डिल्ली शाही कोलहपुर ।
बाँकेको कोहलपुर नगरपालिका—१० रहेको बन्दा क्षेत्रको डुडुवा खोला हिँउदमा सानो देखिए पनि वर्षातमा भने उर्लिने भेल नै बग्छ । कोहलपुर नगरपालिका वडा नं. १० र १३ लाई जोड्ने बन्दा पुल तीन वर्षअघिको बाढीले बगाउँदा त्यही ठाउँमा पक्की पुल निर्माण गरिने स्थानीयलाई आश्वासन बाँडियो । तर अहिलेसम्म न त पुरानै स्तरको झोलुङ्गे पुल नै बन्न सकेको छ न कुनै पक्की पुल निर्माणको सुरसार नै छ ।
वर्षातमा पुरै गाउँनै बगाउनेगरी उर्लिने डुडुवा खोलामा करिब ५ महिनाजती निकै सास्ती मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीले पुल बगाएपछि स्थानीयले तुरुन्त पुल निर्माणका लागि माग गरेका थिए । विगत तीन वर्षदेखि पुल नहुँदा जोखिम मोलेरै नागरिकले खोला तरिरहेका छन् । पानीको चाप कम हुँदा मात्रै सहज तरिकाले वारपार गरे पनि बर्षातमा भने ज्यान लिने खोला बग्छ ।
जसका कारण ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने आशा बोकेका त्यस क्षेत्रका नागरिकको सास्तीपूर्ण यात्रा छुट्न सकेको छैन । बर्खामा जोखिम मोलेर खोला तर्नुको विकल्प नभएको सिमरी लेकवेशी टोलका अध्यक्ष चन्द्रकिरण गिरीले बताए ।
‘तीन वर्षदेखि पुल बन्छ की भन्ने आशामा बसेका छौं’ उनले भने, ‘अब त स्थानीय सरकार आएको नै दुई वर्ष पुग्न लाग्यो, तर यीनीहरुको ध्यान पनि नागरिकको समस्यातिर जान सकेको छैन ।’ पुल नबन्दा त्यसक्षेत्रका ज्ञानज्योति मावि, त्रिभुवन मावि र बागेश्वरी बहुमुखी क्याम्पस लगायतका विद्यालयबाट विद्यार्थीहरु आवातजावत गर्दा हरेक दिन खोलामा लगाइएको १० मिटर लामो रेलिङ समातेर आउने गरेका छन् ।
युवा र किशोर किशोरीहरु सहजै आउन सक्ने भए पनि बालबालिका र जेष्ठ नागरिकलाई भने ज्यान जोखिममा नै हाल्नुपर्ने स्थीति छ । यस्तै, सिमिरीकै मिलन टोलका अध्यक्ष शुतबहादुर पचभैया भने, ‘पुल नहुँदा सुगम जिल्ला भएर पनि दुर्गम क्षेत्रका नागरिक हुनुपरेको छ, अहिलेसम्म पुल निर्माणका लागि कुनै पहल भएको देखिँदैन । हामीले बारम्बार सम्बन्धीत निकायको ध्यानाकर्षण गराइरहेका छौं ।’ एक वर्षअघि मात्रै पुल नभएकै कारण त्यही खोलामा एकजनाले ज्यान गुमाएका थिए ।
बाढीले पुल बगाउनुअघि बाँके लगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटकहरु घुम्न आउने क्षेत्र अहिले पुल नहुँदा गाउँलेको बाहेक अरु कोहीको आवतजावत देख्न नसकिने पचभैयाले बताए । कोहलपुर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष ओमप्रकाश वलीेले नहर निर्माणपछि पुल बन्नेमा आशावादी भएपछि नगरपालिकाको प्राथमिकतामा पर्न नसकेको बताए ।
‘पप्पुले नहरकै काम नसक्दै मुद्दा प¥यो, जसकारण हाम्रो पुल पनि बन्न सकेन’ अध्यक्ष वलीले भने, ‘अब कम्पनीले चासो दिएन भने, हामी १० र १३ वडाले आगामी बजेटमा रकम विनियोजन गरी झोलुङ्गेपुल निर्माणको काम अगाडि बढाउनेछौं ।’