चार जना उद्यमी महिला सम्मानित



कोहलपुर ।
बाँकेको नेपालगन्जमा ‘महिला उद्यमी प्रोत्साहनका लागि महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी मेला–२०७५’ शनिबारदेखि सुरु भएको छ । महिला उद्यमी संघ, बाँकेले आयोजना गरेको मेलामा बाँकेका उद्यमी महिलाले उत्पादन गरेका हस्तकला, मस्यौरा, खेलौना, खाने तेल, झोला, लत्ताकपडा, तरकारी लगायतका बस्तु विक्रीका लागि राखिएका छन् ।

महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको हो । उद्यमी महिलाले उत्पादन गरेको बस्तुको प्रचार प्रसार गरि बजारीकरण गर्न मेला आयोजना गरिएको महिला उद्यमी संघ, बाँकेका अध्यक्ष सुशीला गौतमले जानकारी दिइन् । बागेश्वरी मन्दिर नजिकैको खाली मैदानमा सुरु भएको मेलामा ५० बढि महिलाले आफूले उत्पादन गरेका बस्तु राखेको बताउँदै उनले पहिलेको तुलनामा उद्यमी महिलाको संख्या बढ्दै गएको बताइन् ।

मेला उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले महिलाले अवसर पाए पुरुषभन्दा राम्रो उद्यम संचालन गर्न सक्नेमा जोड दिएका थिए । उनले बातावरण प्रदुषण न्यूनिकरणमा टेवा पुग्ने बस्तु उत्पादनमा जोड दिए । प्लाष्टिक मुक्त उपमहानगर बनाउने अभियानमा रहेको बताउँदै उनले प्लाष्टिकजन्य बस्तुको ठाउँमा लुगा र कागजका झोला बनाउने उद्योगलाई प्रोत्साहन गर्ने बताए ।

यसैबिच शनिबार नै महिला उद्यमी संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ । घर ब्यवहार सँगै उद्यम गरेर उदाहरणिय कार्य गरेको भन्दै संघले चार जना उत्कृष्ट महिला उद्यमीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा पञ्चशील हस्तकला केन्द्रकी निरु चौधरी, मनकामना सिमेन्ट टायल उद्योगकी मिना गौडेल, लुम्विनी गार्मेन्टकी काली मियाँ र आशा सार्कीलाई रहेका छन् । मेला आगामी १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १० गते आइतबार