कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा बैठकमा भएका बिषयलाई लिएर जनप्रतिनिधीहरुबिच आरोप प्रत्यारोप बढ्दै जान थालेको छ । नगरपालिकाको १४ औं कार्यपालिकाले गरेका विभिन्न बिषयलाई लिएर शनिबार उप–प्रमुख सञ्जु कुमारी चौधरी सहितको एउटा समुहले पत्रकार सम्मेलन गरेर आफ्ना असहमति बाहिर ल्याएको छ ।
यसले समेत नगरपालिकाभित्र नेकपाबाट निर्वाचित र नेपाली काँग्रेसबाट निर्वाचित पदाधिकारीहरुबिच आरोप प्रत्यारोप बढ्दै जान थालेको देखाउछ । अहिले कार्यबहाक नगर प्रमुखको जिम्मेवारी समेत सम्हालिरहेकी चौधरीले पत्रकार सम्मेलन नै गरेर १४ औं कार्यपालिकाको बैठकमा छलफल नै नभएका बिषयमा निर्णय भएर सार्वजनिक भएको भन्दै आपत्ती जनाइन् । कार्यपालिकाको बैठकमा २९ वटा विभिन्न बिषयमा निर्णय भएका थिए, उनले भनिन्, निर्णय पुस्तिकामा पछि ३९ वटा बिषयमा निर्णय भएको लेखी आएको छ । सुशासन र जवाफदेहिताको पक्षमा आफुहरु रहेको बताउदै कार्यबहाक नगर प्रमुख चौधरीले नियम विपरित पछि थप गरिएका १० वटा आर्थिक एजेण्डाका बिषयहरुमा असहमती रहेको बताइन् ।
कोहलपुर नगरपालिकाको कार्यपालिकामा नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) को बहुमत रहेको छ । बहुमतको दम्भमा जथाभावीरुपमा नगर प्रमुख लुट बहादुर रावतले बजेट बाड्ने, विभिन्न निर्णय गर्ने गरेको उप–प्रमुख चौधरीले आरोप लगाइन् । स्थानीय शासन सञ्चालन ऐन अन्तर्गत स्वकिय सचिव र प्रेस सल्लाहकार राख्न पाइदैन उनले भनिन्, त्यही भएर आफुले राखेको स्वकीय सचिव हटाइसकेकी छु, अब अरुका पनी हटाउनुपर्छ । आर्थिक बर्ष २०७४÷०७५ मा प्रशासनिक खर्च ४ करोड रुपैया विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक बर्षमा दोब्बर बढी ८ करोड १० लाख रुपैया बिनियोजन गरेको छ ।
जनताले तिरेको करमा बहुमतको आडमा नगरपालिकामा मनोमानी भइरहेको वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउने (निरज)ले आरोप लगाए । नगरपालिका भित्रको गतिविधी सुशासन प्रति प्रतिबद्ध भएको पाइदैन, उनले भने,– अहिले एउटा कामको लागि २ ओटा बिल भौचर बनाई भुक्तानि दिने तयारी भइरहेको छ । नगरपालिकामा जनप्रतिनिधीहरु बिच विवाद बढ्दै जान थालेपछि नगरबासीहरु भने चिन्तित भएका छन् ।
यसैबिच कोहलपुर नगरपालिकाका प्रंवक्ता माधव रिजालले भने, कार्यबहाक नगरप्रमुख चौधरी सहितका जनप्रतिनिधीहरुले लगाएका आरोपमा कुनै सत्यता नभएको बताए । कार्यपालिकाको बैठकको सूचना गर्दा पत्रमा २९ वटा प्रस्ताव भए पनि बैठकमा आवश्यक विषय छलफल गर्दा थप प्रस्तावहरु आएका हुन् उनले भने, बृहत् छलफलपछि ती सबै प्रस्तावहरु बहुमतद्वारा पारित गरिए । प्रवक्ता रिजालले भने,‘ बैठकमा कुनै असहमती नजनाई अर्को दिन बैठक पुस्तीका मागेर असहमती जनाउनु अनुशासन तथा मर्यादा विपरीत हो ’।