1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

इच्छा विपरित रंग दल्नेलाई कार्वाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५  

नेपालगन्ज ।

आज तराईका जिल्लाहरुमा मनाइने रंगको पर्व होलीलाई लक्षित गरेर बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर होली पर्वलाई शान्तिपूर्ण बनाउनका लागि बाँके प्रहरीले बिशेष सुरक्षा योजना अगाडि सारेको हो ।

होली मनाउने क्रममा कुनै अप्रिय घटना घट्न नदिन प्रहरी चनाखो बनेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । उनले होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध समेत गरे । होली पर्व मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार गर्न पाइदैन प्रहरी प्रमुख एसपी पौडेलले भने, कसैले त्यस्ता कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिनेछ ।

‘कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानुनी र उच्छृंखल किसिमका व्यवहार गर्ने, अर्काको इच्छा विपरित रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिहरुलाई दुःख, हैरानी तथा कष्ट दिनजस्ता कार्य प्रचलित कानून विपरित रहेको उनले बताए ।

कोही कसैको इच्छा एवम् स्वीकृति बेगर यस प्रकार कानून विपरित कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने उनले चेतावनी दिए । होली पर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्था समेत मिलाइसकिएको प्रहरी प्रमुख एसपी पौडेलले बताए । शहर देखि गाउँसम्म होलीलाई मध्यनजर गर्दै बुधबार देखि नै सुरक्षा व्यवस्था कडा पारिसकिएको छ ।

उनले भने, ठूलो संख्यामा प्रहरी परिचालनका साथै सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘सबैलाई मेरो विनम्र अनुरोध छ, होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनु होला’ पौडेलले थपे । यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५     7:10:38 AM  |