नेपालगन्ज ।
बाँकेमा रहेका तीन वटा सरकारी कार्यालयमा मंगलबार अख्तियारले छापा मारेको छ । सो क्रममा दुई कार्यालयबाट अख्तियारको टोलीले सेवाग्राहीबाट घुस लिदालिदै दुई जना कर्मचारीलाई पक्राउ गरेको छ भने एक कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज, आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले छापा मारेको हो ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार आयात निर्यात गुणस्तर प्रमाणिकरणका प्रमुख विनोद कुमार श्रीवास्तव ३५ हजार घुसको रकमसहित पक्राउ परेका छन् भने भन्सारका नायब सुब्बा ५२ हजार रकमसहित पक्राउ परेका छन् ।
यातायात कार्यालयबाट भने छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिइएको बताउदैं उनले त्यहाँ बुधबारबाट थप अनुसन्धान अगाडि बढाइने जानकारी दिए ।
बाँकेका अधिकांश सरकारी कार्यालयमा अतिरिक्त रकम बिना सेवाग्राहीको काम नहुने सुचना पाएको अख्तियार नेपालगन्जले मंगलबार एकैसाथ तीन वटा सरकारी कार्यालयमा छापा मारेको हो ।