कोहलपुर ।
बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको ‘होटल सेन्ट्रल प्लाजा’ले पाँच तारे होटलको मान्यता पाएको छ । कोहलपुर नगरपालिका ४ किरणनालामा सञ्चालन भइरहेको होटलले मंगलबार पर्यटन विभागबाट पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । सरकारले काठमाडौँ बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि पूर्वाधारमा केही विस्तार गर्दै होटलले पाँचतारेका लागि आवेदन दिएको थियो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्यालले जानकारी दिए ।
‘होटल सञ्चालनको छोटो अवधिमा नै पाँचतारेको मान्यता पाउन सफल भएका छौं’ उनले भने, ‘यस अवसरमा हामी सम्पूर्णमा खुसी बाँड्न चाहन्छौं, नेपालको पर्यटन क्षेत्रको चौथो ठूलो हिस्सा यस क्षेत्रमा रहेको छ । अबदेखि हामी पर्यटकहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिन सक्षम छौं ।’ पाँच तारेको मान्यता पाए पनि अहिले नै होटलमा क्यासिनो सञ्चालनको लागि कुनै योजना नबनाइएको उनले जानकारी दिए ।
‘अहिले नै होटलमा क्यासिनो सञ्चालन गर्ने हाम्रो कुनै योजना छैन’ उनले भने, ‘सेवाग्राहीको माग अनुसार निकट भविष्यमा क्यासिनो सञ्चालन गर्नेछौं ।’ नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारे स्तरको होटल तथा रिसोर्ट हुनुपर्ने मापदण्ड रहेको छ । २२ कट्ठा क्षेत्रफलमा फैलिएको यो पाँचे तारे होटलमा ८० वटा कोठमा रहेका छन् । पूर्ण रुपमा पारिवारिकसहित सुविधा सम्पन्न होटलमा ३२ सय स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल रहेको छ । प्रबन्ध निर्देशक अर्यालका अनुसार होटलमा स्पा, जिम, सपीङ कम्पलेक्स, बेकरी लगायतका विभिन्न सुविधाहरु रहेका छन् ।
तीनवटा भवनहरु रहेका पाँच तारे होटल सेन्ट्रल प्लाजामा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् । अहिलेसम्म होटलमा ६० करोड भन्दा बढी लगानी भइसकेको बताइएको छ । पश्चिम नेपालको प्रमुख यातायात ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहलपुरमा केही समय अघि खोलिएको यो होटल सम्भवतः सबैभन्दा ठूलो होटल हो । विगत केही वर्षयता नेपालगन्ज आउने अधिकांश पर्यटकहरु होटलको सेवा राम्रो भएका कारण त्यही जाने गरेका छन् । ठूलो क्षेत्रमा फैलिएको र व्यवस्थापन राम्रो भएका कारण सबै पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।
साथै कैलाश यात्राका लागि आउने अधिकांश भारतिय धार्मिक पर्यटकहरुको रोजाइको केन्द्र बनेको होटल पाँचतारेका लागि मान्यता पाएपछि आगामी दिनमा यसको सेवा र व्यवस्थापनमा अँझै सुधार गर्दै लैजाने होटल व्यवस्थानले जनाएको छ ।