कृष्ण ओली, छिन-छिनमा नेटवर्क जाने समस्याबाट ग्रसित रहेका बाँके नरैनापुरबासीले अब चौविसै घण्टा मोबाइल नेटवर्कको सुविधा पाउने भएका छन् । सिमित ब्याट्री ब्याकअप र प्रयाप्त साधनको अभावले टेलिफोनको समस्या उत्पन्न हुँदै आएको त्यसक्षेत्रमा नेपाल टेलिकमले सुधार गरेको छ ।
टेलिकमले आफ्नो सेवामा सुधार ल्याएसँगै अब चाबिसै घण्टा मोबाइलको सिग्नलले काम गर्ने भएको छ । नरैनापुर क्षेत्रमा गुणस्तरिय सामग्री जडान गर्नुका साथै पहिले स्थापना गरिएका टावरहरुलाई थप प्रभावकारी समेत बनाएको छ ।
नेटवर्कको समस्याबाट हैरानी खेप्दै आएका स्थानीयलाई टेलिकमको सेवा विस्तारले सहज बनाएको छ । टेलिकमको नेटवर्कमा समस्या आउने र कतीपय गाउँमा फोन नलाग्ने समस्या भएको दैनिक गुनासो आउने टेलिकममा नागरिकले आलोचना गर्न छाडेका छन् ।
केही महिनाअघि प्राविधिक टोली त्यसको अध्ययन गर्न फिल्ड मै पुगेको थियो । त्यस लगत्तै समस्या पहिचान गरेर समस्या समाधान गरिएको नेपाल टेलिकम मध्यपश्चिममाञ्चल क्षेत्रीय निर्देशनालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले बताए । ‘प्राविधिक समस्या समाधान भएसँगै अहिले त्यहाँबाट गुनासो आउने कम भएको छ’ उनले भने, ‘अझै पनि टेलिकमको सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौं ।’ उनले विगतमा पावर ब्याकअप नहुँदा नेटवर्कमा समस्या हुँदै आएकोमा अहिले २४ सैं घण्टा नेटवर्क नजाने गरी पावरको क्षमता वृद्वि गरिएको जानकारी दिए । नरैनापुर गाउँपालिकामा रहेका ३ वटा टेलिकमका टावरलाई समय अनुकुल परिवर्तन गर्दै नयाँ समानहरु जडान गरिएको छ । टावर सञ्चालनको लागि सबै स्थानमा टेलिकमले सोलार पावरको क्षमता बढाइएको छ ।
लक्ष्मणपुरमा रहेको टावरलाई केही अग्लो बनाउनको लागि जिम्मा दिइसकिएको भन्दै खनालले भने ‘टावर अग्लो बन्नेबित्तिकै सबै ठाउँको समस्या समाधान हुनेछ ।’ थ्रीजी र टूजी इन्टरनेटको समेत पहिलेभन्दा बढि हुनेगरी क्षमता विस्तार भइसकेको छ । प्रदेश सांसद नमुनाले निरन्तरको पहल कदमीले पूर्णता पाउन सफल भएको भन्दै प्रावधिक टोलीलाई धन्यवाद दिइन् ।
‘वर्षातको समयमा सडक सञ्जालका कारण नेपालगन्जसँग सम्पर्क नहुनु हिउँद लागेपछि सञ्चार सम्पर्क पनि विच्छेद हुने समस्या थियो’, उनले भनिन् ‘अब नरैनापुरबासी
सञ्चार सम्पर्कबाट विच्छेद हुनुपर्ने छैन ।’ अब सधै नरैनापुर क्षेत्र दुर्गम नरहने नमुनाको भनाई रहेको थियो ।
उनले तराइको कर्णाली उपमा पाएको नरैनापुर क्षेत्रलाई केही वर्षमै बाँकेका अन्य क्षेत्र सरह बनाइने दाबी गरिन् । नेपालगन्ज देखि नरैनापुरसम्म फाइबर मार्फत टेलिफोन र तिव्र गतिको इन्टरनेट पु¥याउने प्रक्रिया अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् ।
नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले विगत भन्दा अहिले नेटवर्क समस्यामा सुधार आएको बताए । ‘पहिलेभन्दा अहिले मोबाइल नेटवर्क र इन्टरनेटमा धेरै सुधार आइसकेको छ’ उनले भने, ‘टेलिकमका साथै अन्य सेवा प्रदायक दुरसञ्चार कम्पनीले समेत अझै सेवा प्रभावकारी बनाउनुपर्छ ।’ स्थानीय रामउजागर बन्जराले पछिल्लो समय टेलिकमको सेवामा सुधार आएसँगै आफुहरुलाई सञ्चार गर्न सहज भएको बताए । ‘पहिलेजस्तो साँझ गरेपछि नेटवर्क नहुँने समस्या थियो, अहिले त्यो समस्या देखिएको छैन । जतीबेला पनी फोनमा कुरा गर्न पाइन्छ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्