सृजनाको १९ औँ साधारण सभा सम्पन्न



कोहलपुर – २३ , कोहलपुर–११ स्थित सृजना सहकारी संस्था लिमिटेडले शनिबार १९ औं साधारण सभा सम्पन्न भएको छ । सभाको कोहलपुर नगरपालिकाका  प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । सभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहहेका नगरप्रमुख रावतले कृषि, पशुपालन लगायतका हरेक क्षेत्रमा शेयर सदस्यहरुलाई अगाडी बढाउँदै लगे सहकारी नाफामूखी हुनेमा आफु आशावादी रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दशरथ शर्मा पराजुलीले आ.व. २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही क्रममा उनले सहकारीमा हाल ११ सय ३ जना शेयर सदस्य आवद्ध रहेका र ५ सय ४८ जनाले बचत कारोबार गरिरहेको जानकारी दिए । उनीहरुमध्ये ४ सय ७६ जनालाई ऋण लगानी गरी रोजगार उपलब्ध गराइएको बताए । करिब २ सय जना कृषकलाई दूध कारोबारमा संलग्न गराई दूधको बजार व्यवस्थापन गरिएको जानकारी गराइयो ।

सो कार्यक्रममा वार्षिक कार्यक्रम नीति अन्तर्गत संस्थाका सदस्यहरुलाई प्राथमिकता दिँदै सबै सेवाहरु उपलब्ध गराउने, बचत प्रोत्साहन गर्ने, व्यवसायमा भएको लाभ सदस्यहरुलाई वितरण गर्ने, पशु सुरक्षा सम्बन्ीध व्यवस्था मिलाई पशुपालनलाई प्रोत्साहन गर्ने र उत्पादित दुधको गुणस्तर वृद्धि गरी प्रतिस्पर्धात्मक बजारमा वृद्धि गर्ने योजना रहेको जानकारी प्रदान गरियो ।

उक्त कार्यक्रममा सोही सहकारीका लेखा संयोजक चुडामणी शर्माले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आ.व. २०७४÷०७५ मा कुल कारोबार रु ९ करोड ३३ लाख ९८ हजार ३२ भएको र त्यसमा कुल आम्दानी रु.७३ लाख ८० हजार ४० र कुल खर्च जम्मा रु.६९ लाख १३ हजार ५ सय ३४ गरी शुद्ध बचत रु ४ लाख ६६ हजार ५ सय ६ र करपछिको बाँकी बचत रु ३ लाख ७३ हजार २ सय ५ रहेको जानकारी दिए ।

सोही अवसरमा सहकारीका पूर्व पदाधिकारी, नियमित तथा गुणस्तरीय दुध उत्पादन गराउने उत्पादक कृषक, बचत कर्ता तथा ऋणी आदिलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २३ गते आइतबार