कोहलपुर/ कोहलपुर उद्योग वाणिज्य संघले मंगलबारदेखि अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृति वितरण सुरु गरेको छ । संघले कोहलपुर नगरपालिकाका ६ वटा विद्यालयका १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरेको छ ।
संघले २०७४ सालमा लगाएको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवबाट भएको आम्दानीबाट शिक्षा क्षेत्रमा खर्च गर्ने भनिएको रकमबाट छात्रवृति वितरण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले कोहलपुर मंगलबार नगरपालिका–११ स्थित ज्ञानज्योति मा.वि बगियामा अध्ययनरत कक्षा ५ का २ जना छात्रा त्यस्तै कोहलपुर नगरपालिका वडा नं.१ स्थित जन ज्ञानज्योति मा.वि कौशिलानगरका कक्षा ४ मा अध्ययनरत ३ जना छात्र र छात्रालाई छात्रवृति वितरण गरेको हो ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, महासचिव तेज प्रसाद अधिकारी, सदस्यहरु सिता कार्की लगायतको टिमले छात्रवृति वितरण गरेको थियो । वाणिज्य संघले गरेको छात्रवृति वितरणलाई विद्यालयका शिक्षक तथा अभिभावकले प्रशंसा गरेका छन् ।