कोहलपुर महोत्सवको सान्दर्भिकता र औचित्य



सागर गैरे/   दशैँ तिहारको विदाइपछि शुरु हुने हिउँद नेपालीका लागि तुलनात्मक रुपमा फुर्सदिलो समय मानिन्छन् । यही हिउँद महिनाको छेको पारेर पहाड तथा तराइका विभिन्न भू–भागहरुमा हाट, मेला र जात्राका श्रृंखला नै चल्ने गर्दछन् । नेपालको सन्दर्भमा मेला र जात्राको सम्बन्ध संस्कृति र पर्वहरुसंग जोडिएको पाइन्छ । दशैँ पछिको पूर्णिमा मेला, तिहार पछिको एकादशी र पूर्णिमा मेला, माघे संक्रान्तीको माघी मेला, फाल्गुणमा शिवरात्री मेला, चैतेदशैमा लाग्ने दशैं मेला केहि उदाहरणहरु हुन् ।

यी सबै मेलाहरुको सम्बन्ध पर्वसँग जोडिएको छ र यी मेलाहरु धार्मिक स्थल, नदि, तलाउ, सीमसार क्षेत्र, पहाडका शिखर या देउरालीहरुमा लाग्ने गरेको पाइन्छ । विगतमा सडक सुविधाबाट बञ्चित, मनोरञ्जनका साधनहरुको अभाव अनि आधुनिक प्रविधीहरुको समेत विकास नभएको बेलामा यी मेला र जात्राको अलग्गै महत्व थियो ।

सामान्य रुपमा मेला र जात्राहरुमा धार्मीक अभिष्ट पुरा गर्ने, इष्टमित्र भेट हुने, उमेर पुगेका केटाकेटीहरुले एक अर्कालाई भेट गर्ने या सम्बन्ध अघी बढे केटी भगाउने, कसैसँग दुश्मनी सांध्ने, युद्धको हाँक दिने उस्तै परे लडाई नै गर्ने सम्मका गतिविधि हुने गर्दछन् ।

स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि गाउँघरमा हाट बजार सञ्चालन सामान्य मानिन्छ । यस्ता हाटहरु नेपालका सबैजसो भुभागमा लाग्दै आएका छन् । झापामा गाउँ बस्तीका नाम समेत हाट लाग्ने बारको आधारमा नामाकरण भएका छन् जस्तो कि आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे आदि ।

गाऊँघरमा हुने मेला, हाटहरुमा स्थानीय डोका, मान्द्रा, घ्यू, चुक, कुचो, बन्दा, टमाटर, सिन्की, काउली जस्ता हरेक स्थानीय उत्पादनहरु किन्न पाइन्छ । मानिसहरुले हाटबजारमा पाइने ताजा र विविधता बोकेका तरकारी किन्न पाउँदा निकै सन्तुष्टी अनुभति गर्दछन् । यस्ता हाट बजारहरुले बिक्रेता र उपभोक्ता दुबै विच बिक्रि वितरण र खरिद सहज गराउँछ ।

सहर बजारमा ठूला–ठूला आधुनिक डिपार्टमेन्टल स्टोर हुँदा हुँदै पनि व्रmेताहरुको हाटबजार प्रतिको रुची र आशक्तिमा कमी नआउनुको कारण हाट बजारमा हुने सहजता सरलता र अपनत्वको अनुभुती पनि हुन सक्दछ ।
हिजो आज लाग्ने आधुनिक मेला महोत्सवहरु भने पोखरा, बुटवल तिरबाट शुरु भएर वार्र्षिक रुपमा नेपालका साना ठुला सबैजसो नगरहरुमा आयोजना हुन थालेको अनुमान गर्न सकिन्छ ।

हिउँद लागेपछि नेपालको पूर्व पश्चिम राजमार्गको यात्रा गर्न पर्दछ, महाकालीदेखि मेचीसम्मको राजमार्ग आसपासका सहर बजारमध्ये कहीं न कहीं महोत्सव जारी भएको भेटिने छ । यस्तो लाग्छ कि अब व्यापारिक मेला महोत्सव हाम्रो आफ्नै मौलिक उत्पादन भइसकेका छन् । मध्य पश्चिमको प्रवेशद्वार मानिने कोहलपुर बजार पनि माघ महिनामा पाँचौ कोहलपुर महोत्सव आयोजनाको पूर्ण मुडमा छ, भलै आयोजक पक्षहरुबिच सामान्य मनमुटाब होलान् ।

भोलिका दिनमा उनीहरु बिचका असहमतीहरु मेटिने छन् र महोत्सव पनि आयोजना भई हाल्ला । त्यसो भएमा कोहलपुरमा मेला आयोजना हुन थालेको पनि एक दशक पुरा हुनेछ ।

२०६५ सालमा सम्पन्न कोहलपुर महोत्सवको पहिलो संस्करणको उद्देश्य पनि कोहलपुर उद्योग वाणिज्य संघको आफ्नै भवन बनाउने भन्ने थियो र आज एक दशक पछिको उद्देश्य पनि भवन बनाउने नै रहेको छ । यस बिचमा कोहलपुरले पुरै काँचुली फेरी सकेको छ तर कोहलपुर उद्योग वाणिज्य संघको सोच र हैसियत अलिकति पनि माथी उठ्न सकेको देखिदैन् ।

विगतमा सम्पन्न महोत्सवका आर्थिक हिसाब किताब अहिलेसम्म पारदर्शी हुन सकेका छैनन् । कोहलपुरको बजार विस्तार र व्यापारीको हक हितको सवालमा उल्लेख्य काम केहि पनि हुन सकेका छैनन् । मञ्चमा उभिने, आफुलाई सर्वमान्य ठान्ने संस्कार बाहेक व्यापार संघले यी यी सकारात्मक कार्य ग¥यो भनेर देखाउन मील्ने कुनै कार्य देखिदैन ।

कुनै पनि मेला या महोत्सवको प्रमुख शर्त भनेको यहाँको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने हुनुपर्दछ । कोहलपुर महोत्सव कोहलपुरको समृद्धि संग जोडिनुपर्दछ मेला अवधीभर बजारको गतिविधि ओरालो झरेको हुन्छ । मेला महोत्सवमा दुई अर्थी संवाद, गीत नृत्य गर्ने कलाकारलाई प्राथमिकता दिइएको हुन्छ । मौतका कुवादेखि विभिन्न पिङ्ग र खेलौनाहरु भारतीय बजारबाट झिकाइएका हुन्छन् ।

मेला महोत्सवको सबैभन्दा ठूलो फाइदा तिनै भारतीय व्यापारीले लुटिरहेका हुन्छन् । उद्योग वाणिज्य संघले लगाएका कुनै पनि महोत्सवहरुले मेला कुन उद्देश्यका लागि, किन लगाएको हो भन्ने कुराको औचित्यता सावित गर्न सकेको देखिदैन । कुनै पनि जीवन्त समाज र सहरको पहिलो र अनिवार्य शर्त भनेको मान्छेको आवतजावत, आर्थिक गतिविधि र मनोरञ्जन नै हुन् ।

परम्परागत मेला जात्राका आधुनिक संस्करणका रुपमा मेला महोत्सवहरु आयोजनाको सुरुवात आफैमा नराम्रो होइन । स्थानीय सहर बजारमा हुने मेला महोत्सवलाई कसरी बढि भन्दा बढि सान्दर्भीक बनाउन सकिन्छ भन्ने कुरामा आयोजक पक्ष चनाखो र संयमित हुनु पर्दछ ।

मेलामा भिड जुटाउनका लागि कलाकारलाई बोलाइन्छ तर उनीहरुका प्रस्तुतीहरु छोरा छोरी बाबु आमासँगै बसेर सुन्न र हेर्ने नसकिने हुन्छन् । मेलामा अनिवार्य जस्तै गरीे मौतका कुवाले जहिल्यै मनोवैज्ञानिक विकृतिलाई बढावा दिएको हुन्छ । मौतका कुवामा अस्वाभाविक रुपमा मोटरसाइकल चलाइएको देखाइन्छ जसले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । मौतका कुवाले जहिल्यै हिंस्रक मनोवृत्तिलाई पृष्ठपोषण गरिरहेको हुन्छ ।

मेलामा प्राय एकै खाले व्यापारीहरुले एकैखाले सामाग्रीहरु जतासुकै देखाउँदै बेच्दै गरेका हुन्छन् । मेला महोत्सवहरुमा उद्योग व्यवसायहरुको पर्वद्धन गर्ने, व्यवसाय विस्तारका संभावना खोज्ने खालका समिक्षात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गरिनु पर्दछ ।

कृषि, घरेलु उद्योग, हस्तकला, पुष्प व्यवसाय र महिला उद्यमशीलतालाई माथी उकास्ने खालको उद्देश्य बोकिएको हुुनुपर्दछ । पर्यटकिय संभावना भएका क्षेत्रहरुको उजागर गर्ने, स्थानीय समाजसेवी, शिक्षा विद, पर्यटनकर्मी, साहित्यकार, पाका र अगुवा व्यक्तिलाई सम्मान गर्ने हुनुपर्दछ । खेलकुद गतिविधिहरुलाई उकास्ने खालका कार्यक्रम समावेश गरीने स्थानिय कला, संस्कृति, नृत्यहरुको संरक्षण र पर्दशनहरु मेला महोत्सवको लक्ष्य हुनुपर्दछ ।

आन्तरिक उत्पादन र त्यसको खपत कसरी बढाउन सकिन्छ ? घरेलु उद्योगहरुलाई कसरी टिकाउन र तिनलाई दिगो बनाउन सकिन्छ, स्थानीय स्तरमा कसरी रोजगारी बढाउन सकिन्छ, उपभोक्ताले के खोजिरहेका छन् र उनीहरुका मागलाई कसरी संवोधन गर्न सकिन्छ भन्ने सोच महोत्सव आयोजकहरुसँग हुनुपर्दछ ।

एकै थलोमा धेरै किसिमका सामान त्यो पनि सस्तो मुल्यमा उपलब्ध गराउनु मेलाको विशेषता हुनुपर्दछ । महोत्सवको उद्देश्य के हुनुप¥यो भने कुनै पनि व्यवसायी कहाँ वर्षौ स्टक रहेका, फेसन सकिएका, सीजन गएका वा गोदाममा थन्किएका कतिपय सामानहरुलाई गरीबहरुले सुपथ मुल्यमा किन्न पाए त्यसले विक्रेता र के्रता दुवैलाई लाभ हुने थियो । मेला लगाउने स्थलको सुरक्षा, खानेपानी शौचालय र त्यहाँ पाक्ने खाद्य पदार्थहरुको शुद्धता एवं गुणस्तर सम्मका कुरामा आयोजकको ध्यान पुग्नु जरुरी छ ।

मेला महोत्सवहरुमा ठूला कम्पनीहरुले ठूलो परिमाणमा सामान बेच्ने आफ्नो उत्पादनको बजार पर्वद्धन गर्न पाउने भएकाले मेला अवधी भर ति सामानमा छुट अफर राख्न प्रेरित गर्न पनि सकिन्छ । तर सामान्य रुपमा हेर्दा कोहलपुर बाँसगढी, भुरीगाउँ वा गुलरीयामा सम्पन्न हुने मेला महोत्सवहरु बिच तात्विक भिन्नता देखिदैन ।

मेला आयोजनाको नाममा महिनौसम्म प्रचार प्रसार गर्ने भनेर अनावश्यक गाडी दौडाउनुको कुनै औचित्य छैन । एकद्वार निति बाट स्टल भाडामा दिइयोस् । आर्थिक पक्ष राम्रोसंग हेरिनु प¥यो । खर्च कम र आम्दानी बचत गर्नु प्रधान कुरा हो । घाँटीमा परीचय पत्र झुण्डाएर टिकट काट्न नपर्दा आफुलाई ठूलो हैसियतको ठान्ने मनोबिकार मेलामा नदेखिएको राम्रो ।

अरुको देखासीखी गर्ने, मञ्चमा झुण्डिरहने प्रवृत्ति विगतमा जसरी नदोहोरियोस् । विगतमा झै हिसाब अपारदर्शी राख्ने प्रवृत्ति यस पटक नदोहोरियोस् । कोहलपुरको समृद्धिसंग यहाँ हुने मेला महोत्सवहरुलाई के कसरी जोड्न सकिन्छ त्यसतिर छलफल र अन्तरक्रिया हुन जरुरी छ ।

कोहलपुरको अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा यहाँ हुने हरेक मेला महत्सव केन्द्रित रहनु जरुरी छ । मेलामा घोषणा हुने र भनिने उद्देश्य जे हुन त्यो पुरा गर्नको लागि मेलाबाट उठने आम्दानीको रकम सोही काममा उपयोग गरे मात्रै महोत्सवको सान्दर्भीकता सावित हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १८ गते मंगलबार