8 September 2024  |   आइतवार, भदौ २३, २०८१

मन्त्री पौडेलद्वारा भेरी सहकारीको भवन उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५  

कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको भेरी वित्तिय सहकारी संस्थाको नवनिर्मित भवन शुक्रबार समुद्घाटन गरिएको छ । भवनको ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् ।

मन्त्री पौडेलले भवनको उद्घाटन गरेसँगै संस्थाले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट शुक्रबारदेखि नै सेवा प्रारम्भ गरेको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले सहकारी सम्बन्धी नीति तय गरी लागु गर्ने तयारी भइरहेको बताएकी छिन् । उनले साविकको सहकारी डिभिजन कार्यालय बाँकेलाई सहकारी प्रशिक्षालयका रुपमा रुपान्तरण गरिएको बताउँदै स्थानीय निकायबाटै सहकारीलाई नियमन गर्ने र गराउने प्रक्रिया लागु हुने चरणमा रहेको समेत जानकारी गराइन् ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भेरी सहकारीले जिल्लामा सञ्चालन भइरहेका सबै सहकारीहरुको नेतृत्व गर्दै आएको बताए । सहकारी खुल्ने र बन्द हुने क्रमका बिच भेरी सहकारीले बाँकेको सहकारी अभियानमा ऐतिहासिक स्थान हासिल गर्न सफल भएको बताउँदै अध्यक्ष सुवेदीले कोहलपुर केन्द्रबाटै थप सुविधा सहितको सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष बसन्त लामिछानेले बाँकेकै ईतिहासमा सबैभन्दा पुरानो सहकारीका रुपमा भेरी सहकारीले आफ्नो पहिचान राख्न गर्न सफल भएको दाबी गरे । ४ हजारभन्दा बढि सेयर सदस्य रहेको उक्त सहकारीले विगत ३ वर्षदेखि कोहलपुर क्षेत्रमा समेत आफ्नो सेवा प्रवाह गर्दै आइरहेको बताए ।

भवन उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नेकपाका नेता नरेन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५     8:59:40 AM  |