महोत्सव सञ्चालनका विषयमा देखिएको विवाद अन्त्य



कोहलपुर/   हरेका वर्ष सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव कसले आयोजन गर्ने भन्ने विषयमा गत वर्षदेखि नै देखिएको विवाद लामो समयपछि अन्त्य भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके बीच देखिएको विवाद यस वर्षको महोत्सव संयूक्त रुपमा आयोजना गर्ने निर्णय भएपछि साम्य भएको हो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको कार्यकक्षमा उनकै रोहवरमा शुक्रबार बसेको बैठकले दुबै पक्ष कोहलपुर उद्योग वाणिज्य संघ संयोजक र होटल व्यवसायी संघ बाँके सह–संयोजक रही यस वर्षको कोहलपुर औद्योगिक व्यापार मेला, फूड फेष्टिबल तथा पर्यटन महोत्सव–२०७५ सञ्चालन गर्ने निर्णय गरेकोे होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराईले जाकारी दिए । महोत्सव माघ १४ देखि २७ गतेसम्म आयोजना गरिने भएको छ ।

नगर प्रमुख रावतको रोहवरमा उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, होटल व्यवसायी संघका अध्यक्ष बलराम भट्टराई, उद्योग वाणिज्य संघका वरिष्ठ सल्लाहकार विष्णु प्रसाद खनाल, संस्थापक शेषकान्त शर्मा, वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, महासचिव तेजप्रसाद अधिकारी, होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एकनारायाण चापागाई, महासचिव विश्वराज खनाल, उद्योग वाणिज्य संघका उपमहाससचिव मातृका सापकोटा, सह कोषाध्यक्ष ईश्वर श्रेष्ठ, होटल व्यवसायी संघका सचिव खेम शर्मा, खिल प्रसाद भुषाल, तेज प्रसाद चापागाई सम्मेलित बैठकमा छलफल गरी विभिन्न नौ वटा निर्णय समेत गरेको छ ।

बैठकले यस वर्ष सञ्चालन गरिने महोत्सवको नाम कोहलपुर औधोगिक व्यापार मेला, फूड फेष्टिबल तथा पर्यटन महोत्सव–२०७५ रहने, महोत्सवको संयोजक कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष रहने, सह–संयोजक होटल व्यवसायी संघ बाँके कोहलपुरको अध्यक्ष रहने, महोत्सवको खाता दुवै अध्यक्षको हस्ताक्षरबाट हुने, सचिवालयमा उद्योग वाणिज्य संघका महासचिव र होटल व्यवसायी संघका महासचिव रहने निर्णय गरेको छ ।

यस्तै महोत्सव सञ्चालनका लागि दुवै संघबाट २०÷२० लाख रकम खातामा आवश्यकता हेरी जम्मा गर्ने, महोत्सवमा जम्मा ११ वटा उपसमिति रहने, उक्त उपसमति ५÷५ वटा दवै संघका रहने छन् भने बाल उद्यान वाणिज्य संघमा रहने छन् । वाणिज्य संघतर्फ स्टल बुकिङ्ग तथा प्रायोजक, सरसफाइ, खानेपानी, विद्युत, टेलिफोन, अनुगमन मूल्याङ्कन तथा पुरस्कार वितरण, अतिथि सत्कार तथा मञ्च सजावट, नगर सजावट तथा ब्यानर संकलन रहेका छन् भने होटल व्यवसायी संघतर्फ निर्माण, संघ–संस्था परिचालन, पार्किङ तथा यातायात, प्रचार प्रसार, कला संस्कृति रहेका छन् । साथै महोत्सवको आय–व्यय दुबै संघको बराबर रहने र अन्य विषय आइपरेमा दुबै पक्षको आपसी समझदारीमा गरिने निर्णय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १ गते शनिबार