राप्तीसोनारी (बाँके)/ बाँकेका राप्तीसोनारी गाउँपालिका एक वडा सदस्यले आफूले पाउँदै आएको एक वर्षको सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा बापतको रकमबाट राप्तीसोनारी गाँउपालिका–२ बेलवासमा रु २ लाख ३१ हजार बरावरको पक्की प्रतिक्षालय निर्माण गरिदिएका हुन् ।
वलीको व्यक्तिगत लगानीमा निर्माण गरेको उक्त प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ । प्रतिक्षालयको राप्तीसोनारी गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष मदन वली र वडा सदस्य समेत रहेका प्रतिक्षालय निर्माणकर्ता वलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा वडा सदस्य वलीले आफ्नो एक वर्षको सेवा सुविधाबाट वडामा प्रतिक्षालयका साथै खेलमैदानको स्तरोन्नती, शिव लिङ्ग सहितको पुजास्थल पारिदिएको बताए । चुनावका बेला जनातासँग विकास गर्छौ भनेका थियौं त्यसैले पनि विकास गर्नपर्छ भनेर प्रतिक्षालय निमार्ण गरेको हुँ’ उनले भने ।
वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुका लागि निश्चित स्थान नहुँदा समस्या देखिएकाले त्यसको विकल्पका रुपमा प्रतिक्षालय स्थापना गरिएको वलीले बताए । ‘प्रतिक्षालय स्थापनासँगै टोलभेला, बैठक, साँस्कृतिक कार्यक्रम लगायत गाँउघरमा हुने विभिन्न कार्यक्रम गर्न सहज हुने विश्वास लिएको छु’ वलीले भने ।
वलीको पहलमै वडाभित्रका विभिन्न बाटोहरुमा ग्राभेल गरिएको छ भने लक्ष्मी माविको खेल मैदान समेत मर्मत गरिएको वलीले जानकारी दिए । यसअघि राप्तीपारी बाढीबाट प्रभावित समुदायलाई राहत संकलन गर्ने कार्यमा समेत वडा सदस्य वलीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्