बर्दिया/ घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानी बर्दियामा एक जनाको हत्या गरेको छ । आइतबार राती बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरेपुर्वाका ३५ वर्षीय मोहन खटिककोे गोली हानी हत्या गरेको आफन्तले बताएका छन् ।
मृतक मोहनका आफन्तका अनुसार राति पौने दुई बजेतिर पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँ कोखमा गोली हानी खटिकको हत्या गरेको थियो । उक्त घटनाबारे प्रहरीलाई तत्कालै जानकारी गराइएको थियो ।
गोली लागि घाइते खटिकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त समूहले नगदसहित सरसामान लुटपाट गरेको पीडित परिवारले बताएको छ ।
घटनास्थलमा गोलीको खोलसमेत नभेटिएको र मृतकमाथि गोली प्रहार भएको वा अन्य हतियार प्रयोग गरी हत्या गरिएको भन्नेबारे अनुसन्धानपछि मात्र पत्ता लाग्ने इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए । खटिकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।