3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

बालमैत्री घोषणाका लागि कार्ययोजना तयार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १९, २०७५  

दाङ/  घोराही उपमहानगरपालिकाले सबै वडालाई बालमैत्री बनाउन १६ बुँदे कार्ययोजना तयार पारेको छ ।

उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले एक वर्षभित्र सबै वडामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सञ्चालन र वडा बालमैत्री समिति गठन गरिनाका साथै अन्य योजना तथा कार्ययोजना तयार पारिएको उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखाप्रमुख मोती विश्वकर्माले जानकारी दिए ।

यसैगरी लैङ्गिक हिंसासम्बन्धी सचेतना, बालक्लबहरूको क्षमता विकास, किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा, मदिरा नियन्त्रण अभियान सञ्चालनका साथै यस्ता वस्तुको बिक्री–वितरण तथा सेवनको समय र स्थान तोक्ने योजना पनि बनाइएको उनले बताए ।

त्यस्तै समुदायमा महिला निगरानी समूहलाई सक्रिय बनाउने, बालविवाहविरुद्ध विद्यालयमा सचेतना अभियान सञ्चालन गरिने, विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिने, वडाको योजना छनौट प्रक्रियामा बालबालिकालाई सहभागी गराइने र विद्यालयलाई बालमैत्री, लैङ्गिकमैत्री बनाइने तथा सरसफाइ सम्पर्क व्यक्ति तोकिने कार्ययोजना बनाइएको छ ।

कार्ययोजनाअनुसार सबै वडाध्यक्षले कार्यक्रम बनाइ बालमैत्री वडा घोषणाको तयारी गर्ने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । उनका अनुसार उक्त कार्यका लागि हरेक वडाका समुदाय र विद्यालयमा चेतनामूलक अभियान सञ्चालन गरिनेछ ।

-रासस

प्रकाशित मितिः सोमवार, कार्तिक १९, २०७५     8:38:53 AM  |