राप्तीसोनारी, बाँके/ बाँकेको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको चङ्गाईनालामा निर्माण गरिएको हात्तीसार हटाउन स्थानीयवासीले प्रदेश नं ५ का सांसद कृष्णा केसी समक्ष माग राखेका छन् । निकुञ्जले मध्यवर्ती क्षेत्रको बुचापुर, खड्गवार र चङ्गाईनालामा हात्तीसार निमार्ण गरेको छ ।
चङ्गाइनालामा निमार्ण गरिएको हात्तीसार स्थानीयवासीको हित विपरीत भएको बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनन्द उपाध्यायले बताए ।
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव रोशनकुमार वली र प्रगतिशील मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दलबहादुर खड्काले भने मध्यवर्ती क्षेत्रभन्दा बाहिरका केही व्यक्तिले चङ्गाईनालाबाट हात्तीसार नहटाउन चलखेल गरिरहेको आरोप लगाए ।
हात्तीका लागि घाँस, पानी तथा अन्य कुराका लागि बुचापुर उपयुक्त स्थान भएकाले बुचापुरमा नै हात्तीसार राख्नुपर्ने स्थानीयवासीको माग छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिलबहादुर पुर्जापुनले विभागले पठाएको टोलीको सल्लाह सुझाव अनुसार नै हात्तीसार निर्माण गरिएको बताए । निकुञ्जको हात्तीसारमा हाल चार हात्ती छन् ।
प्रतिक्रिया दिनुहोस्