नेपालगन्ज/ नेपाल औषधी व्यवसायी संघको विधान संशोधन साधारणसभा शनिबारदेखि नेपालगन्जमा शुरु भएको छ । संघको स्थापना भएको ४५ वर्षपछि संघले पहिलो पटक विधान संशोधन गर्न लागेको हो ।
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले मुलुकको संविधान अनुरुप संघलाई प्रादेशिक संरचनामा लैजान विधान संशोधन गर्न लागिएको बताए । ‘विधान संशोधनपछि अव जिल्ला, प्रदेश र केन्द्र रहने गरी नयाँ संरचनामा संघलाई लैजाने तयारीमा छौ’–अध्यक्ष श्रेष्ठले भने ।
२०३० असार १० गते स्थापना भएको संघले हाल १४ अञ्चल र ११ जिल्ला उपशाखा मार्फत खुद्रा होलसेल र आयातकर्ता गरी २१ हजार व्यावसायीको छाता संगठनको रुपमा व्यवसायीक हितका लागि संस्थागत र संगठानात्मक गतिविधि गर्दै आएको छ ।
‘आयात, थोक र खुद्रा गरी २१ हजार औषधी व्यवसायीले ४१ अर्व बढीका कारोवार गरी राज्यलाई कर बुझाउदै आएपनि सरकारी निकायले अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने औषधि व्यावसायीको गलत छवि बनाईदिने प्रवृत्ति त्याग्नु पर्छ’– उनले भने ।
विधान साधारणसभामा सहभागिता जनाउन देशभरबाट २ सय बढी प्रतिनिधि सहभागि भएको संघका निवर्तमान अध्यक्ष एवम् विधान संशोधन उपसमितिका संयोजक बाबुराम भट्टराईले जानकारी दिए ।
साधारणसभाको उद्घाटन समारोहलाई नेपालगन्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापा मगर, संघका मानार्थ सदस्य एवं वरिष्ठ सल्लाहकार नरबहादुर राना, नेपाल सिएमए संघका गणेश साउद, कोशी अञ्चल अध्यक्ष कुमार खतिवडा, गण्डकी अध्यक्ष रामबहादुर केसी, चितवन शाखाका अध्यक्ष बद्रीप्रसाद खनाल, औषधी व्यवस्था विभाग नेपालगन्जका सुरज गौतम लगायतले सम्वोधन गरेको सभालाई भेरी अञ्चल अध्यक्ष अभय कुमार बस्नेतले स्वागत तथा महासचिव हरीप्रसाद विडारीले सञ्चालन गरेका थिए । -sadarline
प्रतिक्रिया दिनुहोस्