3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

पुराणको रकमबाट वृद्धाआश्रमको पूर्वाधार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ९, २०७५  

दाङ/  तुलसीपुर उपमहानगरपालिका–१२ रझेनास्थित केशवराज–झुपाकुमारी वृद्धाश्रमलाई सुरक्षित र व्यवस्थित गर्न त्यहाँ मूलगेट र पर्खाल निर्माण गरिएकोे छ । वृद्धाआश्रमको पूर्वाधार निर्माणका लागि वृद्ध सेवा समितिले गत फागुन २० देखि ३० गतेसम्म महापुरण लगाएर रु २१ लाख बचत गरेको र सोही रकमबाट उक्त संरचना निर्माण गरिएको हो ।

वृद्धाआश्रम निर्माणका लागि उपमहानगरपालिका–१२ निवासी समाजसेवी नारायण गौतम र उहाँकी धर्मपत्नी शान्ता गौतमले आफ्ना स्व बुवा केशवराज गौतम र आमा झुपाकुमारी गौतमको स्मृतिमा चार वर्ष पहिले दुई बिघा जग्गा दान गर्नुभएको थियो । सोही जग्गामा वृद्ध सेवा समिति र यस क्षेत्रका दाताको सहयोगमा आठ कोठे भवन र भान्साघर यसअघि नै निर्माण गरिएको थियो ।

वृद्ध सेवा समिति, ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अघिकारीका अनुसार १०५ मिटर लम्बाइ र सात फिट अग्लो पर्खाल निर्माणका लागि रु सात लाख र मूलगेटका लागि रु साढे तीन लाख गरी जम्मा रु साढे १० लाख खर्च भएको छ । हाल वृद्धाआश्रममा दिवा सेवा लिन दैनिक ५० देखि ६० ज्येष्ठ नागरिक आउँछन् भने स्थायी रूपमा पाँच ज्येष्ठ नागरिक बसेका छन् । -रासस

प्रकाशित मितिः शुक्रबार, कार्तिक ९, २०७५     8:16:29 PM  |