नौवस्ता औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन



कोहलपुर/   बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माण हुन लागेको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको कार्यालय बुधबार उद्घाटन गरिएको छ । कार्यालयको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले औपतारिक रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि महाप्रवन्धक बस्नेतले कार्यालयको उद्घाटन गर्दै अबको एक वर्षभित्र उद्योगीहरुलाई जग्गा उपलब्ध गराएर पाँच वर्षभित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको बताए । औद्योगिक क्षेत्रभित्र केही घरहरु रहेको भन्दै अध्यक्ष बस्नेतले सबैको व्यवस्थापन गरिने बताउँदै औद्योगिक क्षेत्रले कम्तीमा २० हजारलाई रोजगारी दिने भएकाले सहयोग गर्न स्थानीयलाई आग्रह गरे ।

यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र भएका परिवारको उचित व्यवस्था गरिने बताए । साथै उनले औद्योगिक क्षेत्र गाउँपालिको मात्र नभएर प्रदेशकै लागि महत्वपूर्ण भएको बताए । सरकारले सुरुमा ५२५ विघा जग्गा औद्योगिक क्षेत्रलाई दिने निर्णय गरेपनि बस्ती लगायतका कारण अहिले ३३८ विघा जमिनमा निर्माण कार्य गरिँदैछ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनले औद्योगिक क्षेत्रको निर्माणपछि नेपालगन्ज प्रदेश ५,६ र ७ को आर्थिक नगरी हुने बताए । परियोजनाको कार्यालयमा प्रमुख, ओभरसियर सहित तत्काल चारजना कर्मचारी खटिएका छन् । कर्मचारी खटिएपछि कामले गति लिने विश्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ८ गते बिहीबार