19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कृषकलाई कृषि चुन वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५  

सल्यान/   माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ । विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।

कृषि चुन खरीद गरी किसानको २५ प्रतिशत लागत सहभागितामा ५४५ क्विन्टल कृषि चुन कृषि शाखामार्फत वितरण गरिएको हो । “किसानले अझै चुनको माग गरिरहेका छन्,” कृषि शाखाकाका प्रमुख पदम तिमिल्सिनाले भने । पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ ।

कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घटेको माटोमा सुधार आई उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सिना बताउँछन् । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गरिँदै आएको छ ।

रासायनिक मल तथा विषादीको प्रयोग तथा बाली चक्र नअपनाउँदा माटोमा अम्लीयपन बढ्न गई उर्वराशक्तिमा ह्रास आउने गरेको छ ।-रासस

प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५     7:52:32 AM  |