29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बघौडा क्षेत्रको विकास सांसदहरुको प्राथमिकतामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५  

नेपालगन्ज/  जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्रको विकासका लागि यहाँका सांसदहरूले प्राथमिकता दिएका छन् । शहरको तुलनामा गाउँको विकासक्रम सुस्त भएकाले अबको प्राथमिकता ग्रामीण विकास भएको बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले बताए । ‘‘सदरमुकाम नेपालगन्ज भन्दा राप्ती सोनारी र बघौडा क्षेत्रको नरैनापुर पचासौं वर्ष पछि परेको छ,’’ उनले भने, “यही गतिमा विकासक्रम अगाडि बढ्ने हो भने शहरको तुलनामा गाउँको विकासमा ठूलो चुनौती देखिने छ ।”

सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन राज्यले दिने न्यूनतम आधारभूत सेवा र सुविधासमेत नपाएका ग्रामीण क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नैपर्नेमा उनले जोड दिए । ती दुई गाउँपालिकामा बिजुली बत्ती र सडकको सुविधा पुग्न सकेको छैन । भएको सडक पनि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको छ । विद्युत् विस्तार र सडकको स्तरोन्नतिलाई चासोका साथ हेरिएको सांसद गहतराजको भनाइ थियो । ‘‘एकैसाथ सबै कुराको विकास त सम्भव छैन तर हामीले ग्रामीण क्षेत्रको विकासका लागि प्राथमिकता दिएका छौंँ, “उनले भने,“विद्युत् आयोजना र हुलाकी सडक समयमै सम्पन्न गर्न अनुगमन, समन्वय र सहजीकरण भइरहेको छ ।”

निर्वाचनका बेला जनतालाई दिएको आश्वासन यथार्थमा परिणत गर्न आफू लागि परेको जानकारी दिँदै सोही क्षेत्रका प्रदेश सांसद कृष्ण केसीले विद्युत् र सडक विस्तारका क्रममा देखिने समस्या हटाउँदै समयमै योजना सम्पन्न गर्न आफू निरन्तर लागिरहेको दशैँसम्ममा ती गाविसमा बिजुली बत्ती बाल्ने तयारीका साथ काम भइरहेको बताए । नेकपाका नेता अशोक कोइरालाले ग्रामीण क्षेत्रका बस्तीको विकास निर्माणमा ध्यान दिनु जनप्रतिनिधि सबैको दायित्व भएको बताउए ।

यस्तै सांसद गहतराजको पहलमा सोमबार बाँकेको समग्र विकासका बारेमा सिडियो कार्यालयमा सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला वन, सडक, पुल, डिभिजन, विद्युत, हुलाकी सडक लगायतका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । राप्तीपारीको ३३ के भी लाइन विस्तार गर्नका लागि कार्तिक ४ गतेबाट रुख कटान सुरु गरिने जिल्ला वनका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले प्रतिबद्धता जनाएका छन् । विकास कार्यलाई समयमै सम्पन्न गर्न सबेैबाट प्रतिबद्धता जनाइएको छ । यसैबिच कुसुम क्षेत्रमा भने दशै अघि विजुली बालिने भएको छ ।-रासस 

प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५     7:43:02 AM  |