दाङ/ जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।
जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा वाणिज्यतर्फ ९१४ र उद्योगतर्फ एक हजार दुई साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर ओलीले जानकारी दिए । जिल्लामा व्यक्तिगत सात हजार ६६३ र साक्षेदारी ६३ उद्योग दर्ता छन् । एक हजार दुई नयाँ दर्तासहित हालसम्म पाँच हजार ८१० उद्योग दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तुलसीपुर, घोराही, लमही, भालुवाङलगायत बजारमा होटेल तथा रेस्टुरेण्ट खुल्ने क्रम बढेको छ । तुलसीपुरमा दुई दशकदेखि ‘एकान्त होटेल एण्ड लज’ सञ्चालन गर्दै आउनुभएका टेकराम खड्का लगानीअनुसार मुनाफा आर्जन भइरहेको बताउनुहुन्छ । किराना पसल तथा परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने उनको भनाइ छ ।
परम्परागत कृषि पेशााबाट जीवनयापन गर्न मुश्किल भएपछि कस्मेटिक व्यापार गर्न थालेको तुलसीपुरका दोर्ण खड्का बताउँछन् । कृषि पेशाभन्दा व्यापार गरेर बढी आम्दानी लिन सकिने उनको भनाइ छ । तुलसीपुर बजारमा फेन्सी पसल सञ्चालन गरिरहनुभएकी शारदा ओली परिश्रम गरेअनुसार आम्दानी नहुने भएकाले कृषि पेशा छोडी फेन्सी पसल चलाउनु परेको बताउँछन् ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत राजनीतिक स्थिरतासँगै आफ्नो लगानी सुरक्षित हुने देखेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताउँछन् । उनले भने, “सरकारले आर्थिक समृद्धिलाई जोड दिएको छ, नागरिकमा अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।” घरेलु तथा साना उद्योग कार्यालयले आव २०७४÷७५ मा रु एक करोड ९३ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ । –रासस