दोषीलाई कारबाहीको माग गर्दै कोहलपुरमा दीप प्रज्वलन



कोहलपुर/  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोली लागि ज्यान गुमाएका सोनु खुनाको पक्षमा न्याय माग्दै र दिवंगत भएका दुवै जनाको आत्माको चीर शान्तिको कामना गर्दै कोहलपुरमा दीप प्रज्वलन गरिएको छ ।

घटनाको विरोध स्वरुप ज्ञानोदय सामुदायिक पुस्तकालय अन्र्तगतको महिला उप–समितिले कार्यक्रमको संयोजनमा दीप प्रज्वलन गरिएको हो ।

पुस्तकालयकी महिला उप–समिति संयोजक गीतादेवी प्याकुरेलका अनुसार कोहलपुरमा रहेका अधिकारकर्मी तथा सरोकारवाला निकायहरु हालसम्म मौन बसेकाले उनीहरुलाई पनि कञ्चनपुर घटनाप्रति सम्बेदनशील बन्न र ध्यानाकर्षण गराउन दवावमूलक कार्यक्रमका रुपमा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलनका सहभागीहरुले पन्तका परिवार र खुना परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै घटनाको सत्य तथ्य र यथार्थ छानबिनमा भैइरहेको ढिलाई र सरकारी वेवास्ताप्रती आक्रोश जनाएका छन् ।

दीप प्रज्वलनका सहभागीहरुले कानुनको रक्षकका रुपमा स्थापित तत्कालिन प्रहरी अधिकृतहरुबाट घटनालाई गुप चुप पार्ने प्रयास असफल भएको भन्दै घटनाप्रति फितलो अनुसन्धान गरी वास्तविक दोषीलाई संरक्षण गर्न खोज्ने प्रहरीका उच्च अधिकृतहरुलाई पनि तत्काल कारवाही गर्न माग गरेका छन् ।

पछिल्लो समयमा गृह मन्त्रालयको उप–सचिवको संयोकत्वमा गठित छानविन समितिले कुनै दवाव वा  प्रलोभनमा नपरेर सत्य तथ्य अनुसन्धान गरेर प्रहरी र सरकारको धुमिलिएको छवि र गरिमालाई कायम राख्न पुस्तकालयकी महिला उप–समिति संयोजक प्याकुरेलले माग गरेकी छिन् ।

 

कार्यक्रममा महिला अधिकारकर्मी, सरोकारवाला पक्षका प्रतिनिधी, आम नगरवासी, किशोरी समूहका सदस्यहरु, पत्रकार लगाएतले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार