8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कोहलपुरका व्यवसायीहरुसँग बृहत अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५  

कोहलपुर/   कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका उप–प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक सन्जु कुमारी थारुको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बजारमा व्यवसाय गरिरहेका व्यवसायीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायीको प्रकृति अनुसारको सावधानी अपनाउनु पर्ने र आम उपभोक्ताहरुको हित विपरित हुने गरी आफ्ना कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने विषयमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा अधिवक्ता राजेन्द्र शर्माले स्थानीय सरकार सञ्चालन ऐन अनुसार बनेको बजार अनुगमन कार्यविधि २०७५ ले व्यवस्था गरेको मापदण्ड भित्र रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

अधिवक्ता शर्मा बजार अनुगमन समितिले अनुगमन गर्दा आम उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकुल हुन सक्ने उपभोग्य वस्तु विक्री वितरण गरेका पाएमा कार्यविधिले गरेको व्यवस्था अनुसार कारबाही हुने जानकारी गराए ।

कोहलपुर नगर पशु शाखा प्रमुख डा. भिषण गजमेरले कोहलपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसलहरु उपभोक्ता हित संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुसार नभएकाले अनुगमनको क्रममा धेरैलाई सचेत गराएको र अब पनि मापदण्ड विपरीत गरेमा कानून बमोजिम कारबाही गर्न बाध्य हुने बताए ।

गजमेरले भने, ‘हामी विभिन्न १२ बुँदामा मासु व्यवसाय गर्दा व्यवसायीहरुले ध्यान दिनु पर्ने विषयहरुको बारेमा जानकारी गराएका छौं । अनुगमनको क्रममा ऐनले तोकिएको मापदण्ड अनुसार नगरिएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ । व्यवसायीहरु आफै सचेत भएर हामीले जानकारी गराएको मापदण्ड अनुसार काम गर्नु होला ।’

कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर सिंहले व्यवसाय गर्दा आम उपभोक्ताहरुको हितलाई ख्याल गरेर गर्नु सुझाव दिदै नेपाल सरकारका कानून र ऐनले गरेका व्यवस्था प्रतिकुल हुने गरी कसैले पनि कुनै पनि काम गर्न नपाइने बताए । उनले आफ्नो पेशालाई व्यवस्थित र मर्यादित बनाउदा स्वयम् व्यवसायीहरुको मर्यादा बढ्ने र आम उपभोत्ताहरुले पनि स्वच्छ र स्वस्थ्य उपभोग्य वस्तु उपभोग गर्न पाउने तर्क गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी मासु तथा दुध डेरी सञ्चालन गरेका व्यसायीहरुले आफूले व्यवसाय सञ्चालन गर्दा आइपर्ने समस्याहरुको बारेमा धारणा राखेका थिए । उनीहरुले कतिपय अवस्थामा आफूलाई ऐन कानूनको बारेमा जानकारी नभएर पनि ऐनले निर्धारण गरेको मापदण्ड अनुसार व्यवसाय सञ्चालन नगरेको बताए । उनीहरुले कानूनले निर्धारण गरे अनुसार व्यवसाय गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको समापन गर्दै उपभोक्ता हित संंरक्षण समिति संयोजक समेत रहेकी उपप्रमुख सन्जु कुमारी थारुले कोहलपुरमा रहेका अधिकांश मासु पसलहरु मापदण्ड अनुसार नरहेको पाइएकाले ऐनले निर्धारण गरेका र हामीले अनुगमनका क्रममा दिएको सुझाव अनुसार आ–आफ्ना व्यवसायहरुलाई व्यवस्थित गर्न सुझाव दिइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रमा मासु व्यवसाय तथा दुध डेरी व्यवसाय गरिरहेका करिब पाँच दर्जन बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५     7:28:21 AM  |