कोहलपुर/ केही महिनाअघि नेकपाका नेता खिलप्रसाद भुषाल मोटरसाइकल यात्रामा रहेका बेला एक्कासि छाडा चौपाया मोटर साइकलमा ठोक्किन आयो । छाडा चौपायालाई जोगाउन खोज्दा उनको कुमको हड्डी भाँचियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं गएर लामो समयसम्म उपचार गराए । त्यही दुर्घटनाका कारण अहिले पनि ढाड दुख्ने समस्याले सताइरहेको भुषालको भनाइ छ ।
त्यसको केही समयपछि पत्रकार टेकेन्द्र बस्याल पनि नेपालगन्ज ट्राफिक चोकअगाडि मोटरसाइकलमा छाडा चौपायासँग ठोक्किएर दुर्घटनामा परे । दुर्घटनाबाट उनका दुईवटै खुट्टामा चोट लाग्यो । यी प्रतिनिधि घटना हुन् । छाडा चौपाया सडक दुर्घटनाका कारक बनेका छन् । छाडा चौपाया रातको समयमा बीच सडकमा बसिदिने, बाटो नछोड्ने ठोक्किन आउने गरेका कारण दुर्घटना हुने गरेको चालकहरूको भनाइ छ ।
कोहलपुर नगरपालिका–११ का लक्ष्मी थापाले छाडा चौपायाका कारण सडक दुघर्टना बढेको बताइन् । ‘म सधैँ यही सडक छेउमा व्यापार गरेर बस्छु,’ उनले भनिन्, ‘कहिलेकाहीँ चालकले ब्रेक लगाउँदालगाउँदै छाडा चौपाया ठोक्किएर दुर्घटना हुने गर्छ ।’ त्यस्तै चालक टोपबहादुर खत्रीले सडकमा भेटिने छाडा चौपायाका कारण निकै सास्ती झेल्नु परेको बताए । ‘जति हर्न बजाए पनि बाटो छोड्दैनन्,’ उनले भने, ‘आफैं सडक छेउबाट सवारीसाधन मोडेर लैजानुपर्छ ।’ चौपायाले ठोक्किन र हान्न आउने गरेको उनको भनाइ छ । \
कोहलपुरका रुपलाल परियारले कोहलपुर नगरमा छाडारूपमा रहेका चौपायाले सवारी आवागमन देखि पैदल यात्रुसम्मलाई समस्या पर्ने गरेको बताए । जथाभाबी सडकमा छोडिएका छाडा चौपायालाई स्थानीय सरकार र प्रशासनले व्यवस्थापन गर्न नसक्दा राष्ट्रिय जनावर गाईको बिचल्ली भएको राष्ट्रवादी विद्यार्थी संगठनका महामन्त्री विजय काफ्ले बताए । ‘बरु कुकुर मरेकोमा मानिसलाई चिन्ता छ तर, राष्ट्रिय जनावर मर्दा कसैलाई चिन्ता छैन,’ उनले भने ।
छाडा चौपाया कहाँबाट आउँछन्, कसरी आउँछन् भन्ने कसैलाई थाहा छैन । तर, सडकमा जथाभाबी छोडिएका छाडा पशु चौपायाका कारण नगर कुरुप बन्न थालेको छ । छाडा चौपायाले नगरभित्र रोपिएका बोटबिरुवा खाइदिने सार्वजनिक ठाउँमा दिसापिसाब गरेर फोहर गरिदिनेजस्ता समस्या हुने गरेको नगरवासीको गुनासो छ । सडकमा जताततै देखिने छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको ड्युटीमा रहेका ट्राफिक प्रहरी बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले आर्थिक वर्ष २०७४÷०७५ मा मात्र छाडा चौपायाका कारण ४२ वटा र यस आर्थिक वर्षमा एउटा दुर्घटना भएको बताए । छाडा चौपाया समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न नसके यस्ता दुर्घटनाहरु बढ्दो क्रममा हुने उनको भनाइ छ । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले छाडा चौपाया व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहेको समिति बनाइएको जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर र जिल्ला वन कार्यालय प्रतिनिधिसहितको तीन सदस्य समिति बनाएको र सो समितिले छाडा पशु व्यवस्थापन गर्न सात दिनभित्र जिल्ला प्रशासन कार्यालय बाँकेमा रिपोर्ट बुझाउन भनिएको छ ।
संयोजक खत्रीले राप्तीसोनारी–२ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहमा रहेको गौशाला क्षेत्रमा व्यवस्थापन गर्ने भनी छलफल चलाइएको बताइन् । उनले स्थानीयसँग विशेष छलफल गरी टुंगो लगाएर मात्र प्रतिवेदन बुझाउने बताइन् ।









प्रतिक्रिया दिनुहोस्