डुडुवा (बाँके)/ बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को तेस्रो चौमासिक अन्तर्गत् चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । बुधबार वडा नं. ६ का करीब डेढ सय जनालाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा भत्ता वितरण शुरु गरिएको हो ।
गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिने डुडुवाका कार्यकारी प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
जेष्ठ नागरिक, अन्य एकल महिला, अपांगता भएका व्यक्ति, दलित गरि ३ हजार १ सय जना र ५ वर्ष मुनिका दुई हजार ९ सय दलित बालबालिकालाई उक्त भत्ता वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
७० वर्ष पुगेका बृद्धलाई औषधी उपचारसहित रु २ हजार र अन्य अन्र्तगत ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई रु १ हजार मासिक भत्ता वितरण गरिदै आइएको छ ।









प्रतिक्रिया दिनुहोस्