नेपालगन्ज/ कचहरी नाटक सम्बन्धी नेपालगन्जमा सञ्चालित पाँच दिने तालिम आइतबार सम्पन्न भएको छ । युनीसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविसको समन्वय तथा बास नेपालगन्ज र न्यु सिपिसी तुलसीपुर दाङ्गको संयुक्त आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
नेपालगन्ज र तुलसीपुर उपमहानगरपालिकाका स्तरीय बाल क्लब संजालका पदाधिकारीहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा बोल्दै युनिसेफ नेपाल नेपालगन्जमा बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले शिप र ज्ञान हासिल गर्न ईच्छा शक्ति महत्वपूर्ण हुने भन्दै सिकेको शिपलाई ब्यवहारमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरे ।
बालश्रम, बालअधिकार लगायतका बिषयमा गरिने प्रचारले सभ्य समाजको निर्माण हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै प्रशिक्षक गोपाल अर्यालले ईमानदारिता हरेक व्यक्तिका लागि महत्वपूर्ण हुने भन्दै ईमानदार भएर काम गर्न सबै सहभागीहरुलाई अनुरोध गरे ।
उनले सिकेको सिपलाई अभ्यासमा लागु गर्न उनले सबैलाई अनुरोध गरे । कार्यक्रममा युनिसेफ नेपाल नेपालगन्जका प्रकास आचार्यको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहभागीका तर्फबाट प्रतिक्रिया मन्तव्य राख्दै रबिन्द्र बोहराले तालिमबाट वास्तबिक जिवन जिउने कलाको विकास भएको बताए ।
उनले वास्तविक नाटकको परिभाषा सोचेको भन्दा फरक पाएको भन्दै शिकेको शिपलाई व्यवहारिक रुपमा लागु गर्ने प्रतिबद्धता गरे । उता तुलसीपुर दाँगका सहभागी सिर्जना भण्डारीले तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । कलाकारितामा लाग्ने ईच्छा भएको भएकाले तालिमले अगाडि बढ्न हौसला थपेको बताइन् ।
कार्यक्रमका बिच तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले प्रदान गरेका थिए । असार २७ गते देखि सञ्चालित तालिममा नेपालगन्ज र तुलसीपुर उपमहानगरपालिकाका गरि २० जनाको सहभागिता रहेको थियो ।