बर्दिया/ घरेलु काममा लगाइएकी ११ वर्षीया बालिका मृत फेला परेकी छन् । सरकारले मुक्त घोषणा गरेपछि पनि ‘कमलरी’ बसेकी अस्मिता थारूको मृत्युलाई परिवारले रहस्यमय बताउँदै छानबिन माग गरेको छ ।
बाँसगढी नगरपालिका–४, अस्नेरीकी बालिका २०७० सालदेखि बढैयाताल गाउँपालिका–७ स्थित दुर्गा भण्डारीको घरमा कामदारका रूपमा बस्दै आएकी थिइन् । अस्मिता उक्त घरमा ६ वर्षको उमेरदेखि कामदारका रूपमा बस्दै आएकी हुन् ।
गत जेठ २९ गते साँझ जस्तापाता भएको घरको छानामा राखिएको फलामको रडमा झुन्डिएको अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ। मृतकका बाबु मणिरामले घटना रहस्यमय भएकाले छानबिनको माग गरेका छन् ।
उक्त घरको छाना टेबुलमा चढेर पुग्न सक्ने अवस्थामा नभएको उनले बताए। मणिरामका ६ मध्ये मृतक साहिँली छोरी हुन् । पढाइदिने सर्तमा भण्डारीले अस्मितालाई ल्याएका थिए ।
स्थानीय भगवती मावि तिलकानामा कक्षा ३ मा पढिरहेकी थिइन् । भण्डारीले आफू छोरी लिन मगरागढी जयनगर जाँदा अस्मिताले झुन्डिएर ‘आत्महत्या’ गरेको थाहा पाएको बताए ।
प्रतिक्रिया दिनुहोस्