कोहलपुर,३० जेठ/ कोहलपुर नगर विकास समितिको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको सो बैठकले निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसर्पामा सार्ने निर्णय गरेको छ ।
सो छोटो दुरीको कोहलपुर बसपार्कलाई पिच गर्न सहज तथा छिटो छरितो गराउनका लागि सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सार्ने निर्णय गरिएको छ । साथै लामो दुरीको बसपार्कमा बसपार्कको जग्गा अधिग्रहण गरी बसेकाहरुलाई तत्काल हटाउने निर्णय गरेको छ ।
यस्तै बैठकले कोहलपुर नगर विकासको सिमानामा भएको अधिग्रहणको बोरमा परेको प्रतिवेदन उपर छलफल गरी अधिग्रहण गरी बनाइएका संरचनाहरु हटाउने, आगामी आ.व.२०७५÷७६ बजेट तथा योजना निर्माणका लागि अवराज खड्का, कर्ण बहादुर थापा र गणेश विक्रम शाह सम्मेलित तीन सदस्यीय समितिलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुर शाखालाई १० कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । सो जग्गा उपलब्ध गराउन शहरी विकास मन्त्रालयसँग अनुमति लिने निर्णय गरेको छ ।
यस्तै बैठकले कोहलपुर नगरभित्र सञ्चालनमा रहेका योजनाहरुको काम समयमै सम्पन्न नगर्ने वा पटक पटक फोन गर्दा सम्पर्कमा आएपनि ढिलासुस्ती वा लापरवाही गर्ने ठेकेदार वा देकेदार कम्पनी÷फर्मको नाम जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरेको छ ।
साथै कोहलपुर क्षेत्रमा सञ्चालित आयोजनाहरुको अनुुगमनका लागि वडा नं.११ का वडाध्यक्ष कर्ण बहादुर थापाको संयोजकत्वमा आयोजना अनुगमन समिति समेत गठन गरेको छ ।
उक्त बैठकले नगरभित्रका ३ मिटर बाटो, घर, घडेरी तथा जग्गाको नक्सा गर्दा कोहलपुर नगरपालिकाले अहिलेसम्म नगरेको हुँदा सो विषयमा सहरी विकास मन्त्रालयलाई जनकारी गराई नगरपालिकासँग समन्वय गर्ने र बाटो, घर, घडेरी तथा जग्गा नक्सा गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत कोहलपुर नगर विकास समितिले जनाएको छ ।