रोल्पा,१० जेठ/ पुर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका ३ मिझिङमा आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
कृषि यन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि किसानको कृषि यन्त्र प्रति आकर्षण बढेको हो । गोरुले खेतबारी जोत्नुको सट्टा अहिले मिझिङका प्राय किसानले हाते ट्याक्टरले खेतबारी जोत्न थालेका छन् ।
खेतबारी जोत्नका लागि गोरुभन्दा कृषि यन्त्रले सजिलो र छिटो हुने भएकाले पनि ट्याक्टरमार्फत खेतबारी जोत्नेको संख्या बढ्दै जान थालेको स्थानीय बोमबहादुर पुनमगरले बताउनुभयो ।
अहिले गाउँमा धेरैले ट्याक्टरले बारी जोत्ने गरेको उहाँको भनाइ छ । गोरुले ५÷६ दिनमा जोत्ने खेतबारी हाते ट्याक्टरले एक घण्टामै जोत्ने भएपछि मिझिङका किसानले ट्याक्टरको प्रयोग गर्न थालेका हुन् ।
श्रम र समयको बचत हुने भएकाले आधुनिक कृषि यन्त्रमा कृषकको आकर्षण बढ्न थालेको किसान टेकबहादुर रोकाले बताउनुभयो ।