रावन बिश्वकर्मा : बाँसगढी,९ जेठ/ स्थानीय श्रोत शिक्षक कर्मचारी हकहित संरक्षण समिति बाँसगढीले नगर प्रमुखलाई चार बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
समितिका अध्यक्ष फग्गुवा थारुले नगर प्रमुख सालिकराम अधिकारीलाई पेशागत सुरक्षा र हकहितको संरक्षणको आशा र अपेक्षा सहितिको चार बुँदे ज्ञापन पत्र नगर प्रमुखको कार्यकक्षमै पुगि बुझाएका हुन् ।
नगर प्रमुख अधिकारीले ज्ञापनपत्र बुझ्दै नगरपालिका सामुदायिक विद्यालयहरुको व्यवस्थापन वर्षको रुपमा अगाडि बढेको बताएका छन् । उनले बाँसगढी नगरपालिकाको शैक्षिक सुधारको लागि प्रारम्भिक सुक्ष्म अध्यनमा आफु रहेको बताए ।
‘स्थानीय सरकारको भविष्य, स्थानीय विद्यालयको आवश्यकता अनुसार विद्यालयको शैक्षिक सुधारको लागि निरन्तर अगाडि बढिरहेका छौ’ उनले भने । स्थानीय सरकार सञ्चालन नियमावलीमा रही आवश्यक कार्ययोजना बनाई सामुदायिक बिद्यालयको संरक्षण, व्यवस्थापन र विद्यालयहरुको अवस्थाअनुसार विद्यालयहरुको सुधार गर्नेतर्फ नगरपालिका अग्रसर रहने प्रतिबद्धता समेत जनाएका छन् ।
नगर शिक्षा शाखा, विभिन्न शिक्षक संगठनहरुको वोधार्थ सहितको ज्ञापन पत्रमा सामुदायिक विद्यालयहरुमा स्थानीय श्रोतमा कार्यरत शिक्षकहरुको लगत संकलन गरी नगर शिक्षक कर्मचारीका रुपमा नेपाल सरकारले तोकेबमोजिमको तलव भत्ता उपलब्ध गराउन, विद्यालयमा नयाँ शिक्षक वा कर्मचारी नियूक्त गर्दा सोही विद्यालयमा कार्यरत योग्यता पुगेका स्थानीय श्रोतका शिक्षकलाई स्वतः नियूक्त गर्ने व्यवस्था गर्नु पर्ने, दरबन्दीमा नियूक्त गर्दा उमेर हदबन्दीका नलाग्ने व्यवस्था हुनु पर्ने, पोशाक, भत्ता नगरपालिकाले उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।
समितिले नगर शिक्षा शाखा बाँसगढी, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नगर शिक्षा महासंघ बाँसगढीलाई पनि ज्ञापन पत्र बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्