कविन्द्र परियार/यानबी साहु : कोहलपुर,९ जेठ/ बाँकेको बैजनाथ गाउँपालिका वडा नं.६ को मानखोला र ८ हस्नापुर जोड्ने दोन्द्रा नालामा वडा पालिकाले झुलुङ्गेपुल निमार्ण गर्ने भनेपछि स्थानीय युवाले आपत्ति जनाएका छन् ।
सो क्षेत्रमा झुलुङ्गेपुल नभई कल्र्भट वा पक्की पुल निर्माण गर्नुपर्ने भन्दै युवाहरुले आपत्ति जनाएका हुन् । स्थानीय युवा जगत केसीका अनुुसार सो क्षेत्र पहिलेदेखि नै पछि पारिदै आएकोले विकास हुन नसकेको र अहिले स्थानीय सरकार आउँदा पनि आफ्नो ठाउँलाई पछि पार्न खोजिएकोले आफूहरुले विरोध जनाएको बताए ।
‘हामीलाई अल्पकालिन भन्दा दिर्घकालिन योजना चाहिएको छ’ के.सीले भने । अर्का स्थानीय कर्ण सिहं ठकुरीले एकासौं शताब्दीमा पनि १० मिटरको नालामा झुलुङ्गेपुल बनाउनु हाँस्यास्पद भएको बताए । ‘अहिले आएको बजेटले जति हुन्छ त्यति संरचना बनाएर बाँकी काम आगामी आर्थिक वर्षको बजेटमा गर्न सकिन्थ्यो’ उनले भने ।
सो क्षेत्रमा झुलुङ्गेपुल निमाणका लागि वडा कार्यालयबाट रु २५ लाख रुपैयाँ विनियोजन गरिएको र सो रकमबाट उक्त स्थानमा झुलुङ्गेल नबानाएर कल्र्भट वा पक्की पुल बनाउनुपर्ने दुई गाउँका युवाहरुको माग रहेको छ ।
सो क्षेत्रमा कल्र्भट निमार्ण वा पक्की पुल को बाटोको स्तरोन्नति गरी दिर्घकालिन योजनाका रुपमा अगाडि बढाउनुपर्ने माग गर्दै सो क्षेत्रका ६९ जनाको हस्ताक्षर संकलन गरेर स्थानीय युवाहरुले बैजनाथ गाउँपालिका कार्यालय समेत ध्यानकर्षण पत्र समेत बुझाएको के.सी ले मिसन टुुडेलाई बताए ।
गत चैत २४ गते दुई गाउँका ६३ जना सहितको बैठकले सो क्षेत्रमा हाल झुलुङ्गेपुल निमार्णको योजना स्थगित गरी आगामी वर्षको बजेट विनियोजन गरी कल्र्भट वा पक्की पुल बनाउने निर्णय गरेको थियो । यता बैजनाथ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले सो क्षेत्रमा जनघनत्व कम भएको र विनियोजित बजेटबाट कल्र्भट वा पक्की पुल बनाउन नसकिएको बताए ।
‘हामी पनि विकासका विरोधी होइनौं तर गाउँ सभाबाटै सो क्षेत्रको पुल निमार्ण गर्नका लागि विनियोजित बजेटको मापदण्डमा रही केही नहुनु भन्दा झुलुङ्गे पुल बनाएमा स्थानीय तथा विद्यार्थीहरुका लागि आवतजावत सहज हुने भएकोले झुलुङ्गेपुल निमार्णको प्रक्रिया अघि बढाइएको अध्यक्ष बस्नेतले बताए ।
यस्तै बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । सो नालामा पुल नहुँदा दैनिक आवागमनमा विद्यार्थी तथा स्थानीयलाई सास्ती हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्