रावन बिश्वकर्मा : बाँसगढी,५ जेठ/ नेपाल राहत शिक्षक समिति बाँसगढीले ११ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाको मुहार फेर्न शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने र त्यसको लागि नगरपालिकामा कार्यरत शिक्षकहरुको प्रभावकारी व्यवस्थापनको लागि ११ बुँदे माग सहित उपप्रमुख सुष्मा चौधरीलाई शुक्रबार ज्ञापन पत्र बुझाइएको हो ।
नेपाल राहत शिक्षक समिति बाँसगढीका अध्यक्ष सुदर्शन अधिकारी सहित नगरमा रहेका राहत शिक्षकहरु ज्ञापन पत्र बुझाउन नगरपालिकाको कार्यालयमै पुगेका थिए ।
ज्ञापन पत्रमा नगरपालिकाको शिक्षक नियमावली निर्माणका क्रममा राहत शिक्षकहरुको प्रतिनिधि सहभागिता गराइनु पर्ने, प्रत्येक शैक्षिक कार्यक्रममा अन्य पेशागत संगठन सरह सहभागिता सुनिश्चित गरिनु पर्ने, नेपाल सरकारको अनुदानमा नियुक्त सबै शिक्षकहरुलाई सरुवा गरिनु पर्ने, प्रशासकिय योग्यता एवं क्षमता भएका राहत शिक्षक पनि प्रअ हुन पाँउनु पन माग गरिएको छ ।
यस्तै राहत शिक्षक सञ्चय कोषको व्यवस्था गरिनु पर्ने, राहत शिक्षकको उचित मर्यादाक्रम र पेशागत सुरक्षाको प्रत्याभुति गर्नुपर्ने लगायतका माग अध्यक्ष सुदर्शन अधिकारी र सचिव प्रेमलाल भण्डारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छन् ।









प्रतिक्रिया दिनुहोस्