दाङ, ३० वैशाख/ तुलसीपुरका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि अङ्ग्रेजी माध्यम शिक्षण तालिमको आयोजना गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा वोल्दै पाण्डेले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण वढाउनका लागि आफु प्रतिवद्ध रहेको वताए ।
‘हामीले निजी विद्यालयलाई गाली गर्ने भन्दा पनि आफुले राम्रो गर्नमा ध्यान दिनुपर्दछ ।’ उनले वताए । सामुदायिक विद्यालयहरुले विद्यार्थी झिकाउन, झिकाएका विद्यार्थीहरुलाई टिकाउन र टिकेका विद्यार्थीहरुलाई विकाउनमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
सरकारले शिक्षामा गरेको लगानी वढाउन आवश्यक रहेको वताउँदै पाण्डेले तुलसीपुर उपमहानगरले शिक्षा सुधारका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
मैले तपाईहरुका लागि के गर्नुपर्यो भन्नुहोला म गर्न तयार छु तर एक वर्षसम्म पढेको विद्यार्थी फेल हुनु भनेको शिक्षकले जिम्मा लिने कुरा हौ’ उनले भने । शिक्षकले कितावमा मात्रै भन्दा पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर शिक्षण गर्नुपर्ने उनको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि यसै शैक्षिक सत्रबाट अँग्रेजी माध्यमको पठनपाठनको सुरुवात गर्न लागेको छ ।
नेपाली माध्यममा अध्यापन गराइरहेका शिक्षकहरुलाई अङ्ग्रेजी माध्यममा कसरी शिक्षण गर्ने भनेर तालिमको आयोजना गरिएको हो । विगतदेखि नै शिक्षण गर्दै आएका शिक्षकहरुलाई अँग्रेजी माध्यमबाट कसरी अध्यापन गराउने भनेर तालिमको आयोजना गरिएको स्रोत व्यक्ति मुकुन्द रिजालले वताए ।
‘शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि उपमहानगरपालिकाले तालिममा लगानी गरेको हो ।’ रिजालले वताए । अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने तरिकाका वारेमा नयाँ कुरा जान्न पाउँदा शिक्षकहरुले पनि नयाँ अनुभुति गरेका छन् ।
प्राथमिक विद्यालय कुमालगाउँकी शिक्षिक चन्द्रिका ढकालले तालिम पश्चात अँग्रेजी माध्यममा अध्यापन गराउन आफु सक्षम हुने वताइन् । उनले वालवालवालिकालाई कसरी प्रभावकारी ढँगले अध्यापन गराउन सकिन्छ भन्ने वारेमा पनि जानकारी हासिल गरेको बताइन ।
‘अब कक्षाकोठामा विद्यार्थीहरुलाई रमाईलोसँग अध्यापन गराउने छु ।’ ढकालले भनिन् । उनीजस्तै ज्ञानज्योति प्रावि तुलसीपुरका शिक्षक सुरज कुवरलाई पनि अङग्रेजी माध्यममा अध्यापन गराउने आत्मविश्वास वढेको छ । ‘पहिला अङ्ग्रेजी माध्यममा पढाउन निकै गाह्रो होला जस्तो लागेको थियो अब मज्जाले सक्छु जस्तो लागेको छ ’ कुवरले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउनका लागि नमुना कार्यक्रम स्वरुप तुलसीपुर उपमहानगरपालिकाले अँग्रेजी माध्यममा अध्यापन गराउने कामको सुरुवात गरेको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले वताए । उनले भने ‘सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि हामीले अँग्रेजी भाषामा अध्यापन गराउने कामको सुरुवात गरेका हौ’ ।
गौतमले मनोवैज्ञाानिक ढँगले वालवालिकालाई कसरी अध्यापन गराउने भन्ने वारेमा पनि तालिममा सिकाइने वताए । ‘पहिलो कुरा विद्यार्थी सामुदायिक विद्यालयमा झिकाउने त्यसपछि त्यसलाई टिकाउने भन्ने हाम्रो सोच रहेको छ ।’ गौतमले भने ।
यसै शैक्षिक सत्रबाट उपमहानगरपालिकाका ३५ विद्यालयहरुले कक्षा १ बाट अङग्रेजी माध्यमको पठनपाठनको आरम्भ गर्दैछन् । अङग्रेजी माध्यमको शिक्षण कार्यलाई प्रभावकारी वनाउनका लागि तालिमको आयोजना गरिएको हो ।
तालिममा पुस्करनाथ अधिकारी, रिमवहादुर खड्का, लोकवहादुर वस्नेत, रामहरी रिजाल, बब्लु शर्मा, मुकुन्द रिजाल र विष्ण केसीले अङग्रेजी, गाणित र विज्ञान विषयका वारेमा प्रशिक्षण दिने स्रोत व्यक्ति मुकुन्द रिजालले जानकारी गराए ।