सुर्खेत,१६ चैत/ पञ्चपुरी नपा–३ निवासी एसईई परीक्षार्थी गौरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत
१५ गते स्थलगत अनुगमन गरेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग पु¥याउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको अगुवाईमा दलित महिला सङ्घ, मानव अधिकार तथा शान्ति समाज र गैरसरकारी संस्था महासङ्घको टोलीले स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीले घटनास्थल बाबियाचौरमा गई मृतकका आफन्त, उनका साथी, एसईई दिइरहेको विद्यालयका शिक्षक शिक्षिका, प्रहरी, प्रत्यक्षदर्शी, गौरीकला डेरा गरी बसेको घरबेटी, घटनास्थल र घटनाका आरोपितसँग भेटघाट गरेको इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले बताए ।
एसईई दिइरहेकी गौरीकलाको ०७४ चैत १३ गते बिहान भएको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान २८ वर्षीय हरिप्रसाद कोइराला, पञ्चपुरी नपा–८ का २० वर्षीय लक्ष्मी बास्तोला र उनका दाजु २८ वर्षीय खुमप्रसाद वास्तोलालाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
गोरीकलाको हत्या भएकै दिन गिरफ्तार गरिएका कोइरालासहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी श्याम सिंह चौधरीले बताए ।
प्रहरीले ०७४ चैत १४ गते पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गौरीकलाको मृत्यु हुनुमा कोइराला, लक्ष्मी र खुमप्रसादको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्