कोहलपुर,१३ चैत/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्वृद्धि र विकासका लागि स्थानीय र प्रादेशिक सरकारबीच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने बताएका छन् ।
नेपालगन्ज रंगशालामा सोमबार सुटिङ रेन्जको शिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले विकासमा स्थानीय र प्रादेशिक सरकारबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।
खेलकुद क्षेत्र स्वभाविक रुपमा स्वस्थ जनशक्ति तयार गर्ने, राष्ट्रलाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने र युवाहरुमा बढदै गएको दुव्यर्सन, कुलत कुसंस्कारबाट सकरात्मक सोचतर्फ युवा जमातलाई दिशा निर्देश गर्ने माध्यमका रुपमा खेलक्षेत्र विकास भएको बताए ।
उनले संघीय शासन व्यवस्थालाई सफल पार्न केन्द्र, प्रदेश र स्थानीय सरकारबीचमा पनि सहकार्य जरुरी रहेको बताए । खेल जिताउन टिमकै आवश्यक परेजस्तै विकास र सम्वृद्धिका लागि पनि राजनीतिक एकता अपरिहार्य रहेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सदस्य आइपी खरेल, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी नमुना, याकुव अनसारीको लगायतको उपस्थिति रहेको थियो ।