कोहलपुर,५ चैत/ आफ्ना मागहरु सुनुवाइ नभएको भन्दै नमस्ते नेपाल यातायात व्यवसायी संघमा आबद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आफूहरुले पटकपटक आफ्ना मागहरु राखे पनि संघले कुनै सुनुवाइ नगरेको कारण बाध्य भएर आन्दोलन गर्नुपरेको पीडित कर्मचारी संघर्ष समितिको भनाइ छ ।
विगत १२ वर्षदेखि कार्यरत कर्मचारीलाई स्थायी नियुक्ति दिइनुपर्ने, साना तथा ठूला प्रकृतिका गाडीहरुबाट लिइएको कर्मचारी कोषबापत्को रकम कर्मचारी कोषमा राख्नुपर्ने, कर्मचारीलाई भेदभाव नगरी फिल्डका कर्मचारीको पनि तलब वृद्धि गरिनुपर्ने, दाङबाट आउने गाडी राप्तीको ट्याक्सीबापत्को रकम पाउनुपर्नेलगायतका ४ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
चैत ५ गते बिहान १० बजे संघको कार्यालयमा एक घण्टा विरोध कार्यक्रम गर्ने, चैत ६ गतेदेखि संघको सम्पूर्ण आम्दानी प्रत्येक काउण्टरबाट रोक्ने, चैत ७ गते संघको कार्यालयमा एक घण्टा तालाबन्दी गर्ने र माग सम्बोधन नभएमा चैत ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिले जनाएको छ । नमस्ते नेपाल यातायात व्यवसायी संघका कार्यवाहक अध्यक्ष गोविन्द पौडेलले फिल्ड कर्मचारीहरुको माग जायज नभएको बताएका छन् ।
‘संघको नवीकरण मिति २०७५ असारमा सकिँदैछ,’ उनले भने, ‘संघ नै स्थायी नभएको अवस्थामा कर्मचारीलाई कसरी स्थायी गर्न सकिन्छ ?’ यस्तै फिल्ड कर्मचारीले मनोमानीरूपमा टिकट नकाटेर पैसा उठाउने गरेको, पूरा समय ड्युटी नगर्ने, संघले छुट्याएको ५ प्रतिशत कमिसनभन्दा बढी लिने गरेकोसमेत उनले आरोप लगाए । ‘हामीले कर्मचारीको तलब २०७२ सालमा ३५ प्रतिशत वृद्धि गरेका हौँ,’ उनले भने, ‘तलबसँगै कमिसन पनि खाइरहेकाले गत वर्षदेखि तलब वृद्धि गरेनौँँ ।’ उनले कर्मचारीले गर्ने भनिएको आन्दोलनका विषयमा गम्भीर ध्यानाकर्षणसमेत भएको बताए ।









प्रतिक्रिया दिनुहोस्