सल्यान,२ चैत/ विगत दुई वर्षदेखि तलब नपाएपछि सल्यानको एक विद्यालयका प्रधानाध्यापकले गाउँपालिकाको कार्यालय सहयोगीको रुपमा काम गर्न थालेका छन् ।
सल्यानको दार्मा गाउँपालिका–४, भल्चौर लहरे पिपलमा रहेको बालकल्याण प्राथामिक विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर थापाले विद्यालयको जागिर छाडेर दार्मा गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा काम गर्न थालेका हुन ।
वि.स. २०६६ सालदेखि नीजी स्रोतबाट त्यस विद्यालयमा पढाउँदै आएका हेमन्तबहादुरले गएको दुई वर्षदेखि तलब नपाएपछि प्रअको जागिर छाडेर गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा काम गर्न थालेको बताउनुभयो । ‘मैले २०६६ सालदेखि बाह्रसय तलब लिएर विद्यालयमा पढाउन थालेको हुँ’, थापाले भन्नुभयो, ‘२०६९ सालमा प्रधानाध्यापक भएर काम गरेँ, तर भनेको समयमा कहिले पनि तलब पाइएन ।’
‘गएको आर्थिक वर्षदेखि त झन तलब पनि पाएको थिइँन, घरखर्च चलाउन मुस्किल भएपछि गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा काम गर्न बाध्य भएको हुँ’,– उहाँले थप्नुभयो । प्रधानाध्यापकले विद्यालयमा पढाउन छोडेपछि पठनपाठन अवरुद्द भएको विद्यार्थीहरुको भनाई छ ।
प्रधानाध्यापकले नै विद्यालयमा अध्ययन गराउन छाडेपछि पठन–पाठनमा समस्या भएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन । ३१ जना विद्यार्थी रहेको त्यस विद्यालय अहिले एक बाल विकास सहयोगी कार्यकर्ताको भरमा सञ्चालन हुँदै आएको छ ।
दरबन्दी नै नरहेको सो विद्यालय विगतका वर्षहरुमा चन्दाको भरमा चल्दै आइरहेको बाल विकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले बताउनुभयो ।
-ujyaaloonline.com









प्रतिक्रिया दिनुहोस्