उनले भने–‘सेवाग्राही अफ्ठयारोमा परे भने मात्र सिफारिसको लागि कार्यालयमा आउने गरेको कारण यकिन तथ्याङ्क आउने गाह्रो भएको छ । कार्यालयमा आउने सेवाग्राहीसंग सोधपुछ गरेर विमित पशुपक्षिको बारेमा तथ्यांङ्क खडा गर्ने गरेका छौ ।’यस जिल्लामा दर्ता भएका ८ सय ३३ वटा पशुपंक्षी फार्म भए पनि चालु आर्थिक वर्षको ६ महिनासम्ममा २ सय ५० किसानले आफ्ना पशुपंक्षिको विमा गराएका छन् । जबकी गत आर्थिक वर्षमा ३ सय ३१ जना कृषकले मात्र पशु विमा गराएका थिए । आव २०७३÷०७४ मा २ लाख २० हजार ४ सय ५३ गाईभैँसी रहेकोमा १ सय ५४ जना कृषकले ४ सय १२ गाईभैँसीको मात्र विमा गरेकोमा यो वर्ष २ सय ५ किसानले ४ सय २१ को मात्र बिमा गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
यस वर्षको ६ महिनामा ३५ जना किसानले २ सय ८२ भेडा बाख्रको बिमा गराएका छन जबकी गत वर्ष बाँकेमा १ सय ५७ जना कृषकले २ सय ८३ वटा भेडाबाख्राको विमा बनाएका छन् । यहाँ ३ लाख १० हजार २ सय ५९ बाख्रा छन् ।
गत वर्ष बाँकेमा कुखुरा र बंगुरको बिमा नै नभएको पाईए पनि यो वर्षमा भने ५ जना किसानको ४४ वटा बंगुर र ५ जना किसानले १ हजार ८ सय ६० वटा कुखुराको विमा गराएको पाईएको छ ।
बाँकेमा गत वर्ष २ करोड २० लाख ८० हजार रुपैयाँ बराबरको पशु विमा गरिदा यो वष त्यसमा दोब्बर रकमको बिमा गरिएको पाईएको छ । यो वर्ष ४ करोड ८० लाख ७० हजार बराबरको पशुधनको विमा गरिएको जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ । ‘पुशपंक्षीको संख्याको तुलनामा विमा गराउनेको संख्या एकदमै कम छ, विमाको बारेमा जानकारी भएपनि यसप्रति कृषकले चासो राख्दैनन्,’ केसीले भने ।
गतवर्ष कुखुरा र बंगुरमा विमा नै नभए पनि यस वर्षदेखि सुरुवात
आव २०७३/०७४ मा एकजना पनि कुखुरा र बंगुर पालक कृषकले विमा नगराएको भए पनि यो आर्थिक वर्षको कात्तिकसम्ममा ४४ वटा बंगुर र १ हजार ८सय ६० कुखुराको विमा भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख डा. केसीले कुखुुराको विमा गराउने र विमित रकम लिने प्रक्रिया झन्झटिलो भएकोले कुखुरा पालक कृषकले विमा गराउन नमान्ने गरेको बताए । ‘एकदुई वटा कुखुरा मरेमा विमा बापतको रकम नपाइने भएकोले कुखुरा पालक कृषकले विमा गराउन मान्दैनन्,’ उनले भने ।
सरकारले पशु विमाका लागि विशेष सहुलियत दिएको छ । कुल विमित रकमको ७५ प्रतिशत सरकार र २५ प्रतिशत रकममात्र कृषकले ब्यहोर्ने प्रावधान छ । तर, बाँकेका पशुपालक कृषकको आकर्षण यसतर्फ बढ्न नसकेको वरिष्ठ पशु चिकित्सक केसीले बताए । ‘विमाबाट हुने फाइदाका बारेमा सम्झाई बुझाई गर्दासमेत कृषकले मान्दैनन्,’ उनले भने ।

गाईको तुलनामा भैँसी र बाख्रोको संख्या बढ्दो
पछिल्लो समय बाँकेमा पशुचौपायाको संख्या विस्तारै बढ्दै गएको छ । ब्यवसायिक पशुपालन सुरु भएपछि बाँकेमा पशुचौपायाको संख्या केहि बढेको पशु सेवा कार्यालयले जनाएको छ ।
वरिष्ठ पशु चिकित्सक केसीले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा लगभग २ हजार गाईगोरुको संख्या बृद्धि भएको छ । आव २०७२/०७३ मा २ लाख १८ हजार ७ सय ९४ रहेकोमा आव २०७३/०७४ मा शून्य दशमलव ७५ प्रतिशतले बढेर २ लाख २० हजार ४ सय ५३ गाईगोरु रहेका छन् ।
गाईको तुलनामा भैँसी/राँगा, बाख्रा र घोडा/खच्चडको संख्या भने बाँकेमा सन्तोेषजनक रुपमा बृद्धि भएको छ । आव २०७३/०७४ मा भैँसी/राँगा, घोडा÷खच्चड २–२ प्रतिशत र बाख्रा ३ दशमलव ५ प्रतिशतले बृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ ।
तर, बंगुरको संख्या माइनस २ प्रतिशतले घटेको छ । आव २०७२/०७३ मा ८७ हजार ८ सय २८ रहेकोमा आव २०७३/०७४ मा घटेर ८५ हजार ३ सय ४५ मा झरेको छ । बाँकेमा कुखुराको संख्या पनि बृद्धि हुन नसकेको पशु सेवा कार्यालयले जनाएको छ । हाल बाँकेमा ३ लाख २ हजार ६ सय ९९ कुखुरा रहेका छन् । आव २०७२/०७३ मा ३ लाख ११ हजार ९ कुखुरा रहेका थिए ।
लक्ष्य अनुसार कृतिम गर्भाधान हुन सकेन
आव २०७३/०७४ को एक वर्षमा बाँकेमा ४ हजार ८ सय १२ पशुचौपायामा कृतिम गर्भाधान गराइएको बरिष्ठ पशु चिकित्सक बेद बहादुर केसीले बताए । उनका अनुसार ३ हजार १ सय ५८ गाई, १ हजार ५ सय ३९ भैँसी र केवल १ सय १५ बाख्रामा कृतिम गर्भाधान गरिएको उनले जानकारी दिए ।
कृतिम गर्भाधानलाई विशेष महत्व दिइएको छ । नश्ल सुधार गरेर उन्नत जातका पशुको विकास गर्न कृतिम गर्भाधानलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । उनले विगतको तुलनामा कृतिम गर्भाधानको संख्या बृद्धि भएको बताए । आव २०७२/०७३ मा ३ हजार ३ सय ३९ गाई, १ हजार २ सय ७९ भैँसी र ५६ बाख्रामा कृतिम गर्भाधान गरिएको थियो । ‘जुन रुपले कृतिम गर्भाधान हुनुपर्ने हो त्यो हुन सकेन,’ केसीले भने ।
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार









प्रतिक्रिया दिनुहोस्