अन्तर्राष्ट्रिय केन्द्र विन्दु कोहलपुर हुन्छ : अथक
कोहलपुर,२७ माघ/ बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक)ले बाँकेको कोहलपुरलाई अन्तरराष्ट्रिय केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा बताए ।
कोहलपुरमा शुक्रबारबाट कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४’ को उद्घाटन गर्दै उनले कोहलपुरलाई भारत र चिन जोड्ने माध्यमका रुपमा विकसित गराउन सकिने बताएका हुन् ।
‘कोहलपुर देखि भारतको दिल्ली सम्म फोर लेनको सडक निर्माण भएको छ, कुनै पनि ठाउँमा अवरोध छैन् भने हिल्सामा मितेरी पुल निर्माण कार्य सम्पन्न भएको छ , तिब्बत र नेपालको सडक निर्माण कार्य सम्पन्न हुँदा मात्रै कोहलपुर अन्तरराष्ट्रिय केन्द्र विन्दुको शहरका रुपमा विकास हुने सम्भावना छ ।’ उनले भने ।
साथै उनले प्रदेशको राजधानी बहुमतबाट तोकिने कानूनी व्यवस्था भएकाले अब प्रदेशको राजधानी बहुमतबाटै टुङ्गिनेमा जोड दिदै सम्पूर्ण उद्योगहरु देश भित्र र बाहिरबाट केन्द्रित गर्नका लागि बाँके सम्भावना बोकेको जिल्ला रहेको भन्दै कोहलपुर औद्योगिक क्षेत्रको केन्द्र विन्दुका रुपमा रहेको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले आर्थिक विकासका लागि यस्ता प्रदर्शनी तथा महोत्सवहरुले महत्वपूर्ण भूमिका निवार्ह गर्ने गरेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले देशमा शान्ति र स्थिरता हुँदा आर्थिक विकास हुने भन्दै व्यापार मेलाहरुको विशेष प्रदर्शनी गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४ मुल समारोह समितिका संयोजक चक्र बहादुर अधिकारीले महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
शुक्रबार मध्याह्न कोहलपुर चौराहबाट विविध झाँकी तथा हात्तीसहित ¥याली कोहलपुरको पिपल चौतारा न्यूरोड र बसपार्क हुदै मेलमा स्थलमा पुगेर आ —आफ्ना प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।
¥यालीमा विभिन्न संघ संस्था ,क्लब, व्यवसायिक संगठन , विद्यालय , लगायतको प्रस्तुति रहेको थियो । थरीथरीका भेषभुषामा सजिएर ¥यालीमा सयौंका संख्यामा स्थानीय कलाकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तरगतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडीबुटी सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, थारु गाउँका लागि ११ वटा स्टल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्