नेपालगञ्ज,४ माघ/ विभिन्न अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु इतिबेला आफ्ना सहकर्मी निष्काशनको विरोधमा आन्दोलित भएका छन् । बाँकेका विभिन्न अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफहरु गत पुस २६ गतेदेखि चरणवद्ध आन्दोलनमा हुँदा पनि सम्बन्धित निकायले उदानसिनता देखाएको हुँदा आन्दोलन सशक्त पार्न बाध्य भएको बताएका छन् ।
नर्सिङ स्टाफहरुले आव्हान गरेको आन्दोलनका कारण नेपालगञ्ज, कोहलपुरका लगायतका अस्पतालहरु प्रभावित भएका छन् । आफुहरु गत पुस २६ गतेदेखि विभिन्न ११ सुत्रीय मागहरु अघि सारेर आन्दोलनमा उत्रिदा पनि आफुहरुको आन्दोलनको कुनै सुनुवाई नभएको नेपाल नर्सिङ्ग संघका सदस्य देवमाया घर्तीले बताएकि छिन् ।
नेपाल नर्सिङ्ग संघको आव्हानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहाली गर्नुपर्ने, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुनस्र्थापना गर्न, विरामी संख्याको अनुपातमा सबै अस्पतालमा नर्सिङ स्टाफ राख्ने नियम लागू गर्न, सरकारले उपलब्ध गराएको न्यूनतम तलव भत्ता सरह नीजि संस्थाहरुमा कार्यरत नर्र्सहरुलाई तहगत हिसाबले उपलब्ध गराइनु पर्ने, भोलेन्टियरको नाममा नर्स माथि हुने श्रमशोषण बन्द गरिनु पर्ने लगायतका विभिन्न ११ बुँदे मागहरु राखी उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
नर्सिङ्ग स्टाफहरुले हातमा कालो पट्टी बाँधेर आपतकालिन कक्ष र प्रसुती कक्ष बाहेक सबै स्थानमा ड्यूटी बहिष्कार गर्दै आन्दोलन उत्रिदा समेत संबन्धित निकाय तथा अस्पताल प्रशाशनले कुनै सुनुवाई नगरेकोले आज (बिहिबार)बाट थप सशक्त आन्दोलन चर्काउने नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज नर्सिङ्गहोमका मेट्रोन ममता शर्माले जानकारी बताइन् ।
शर्माले भनिन् , ‘ आज (बिहिबार)े बिहान ८ बजेदेखि ४ बजेसम्म ईमरजेन्सी र प्रसुती केन्द्र बाहेक सबै ठप्प पारिने छन् ।’ यसअघि ईमरेन्सी, आईसियु,, एनआईसियु, प्रसुतीसेवा र डायोलेसिस जस्ता क्रिटिकल बाहेक अन्य वार्ड, अपरेशन थियटर समेत दैनिक ३ घण्टा ठप्प पार्दै आन्दोलनमा उत्रीएका नर्सिङ्ग स्टाफहरुको मागको कुनै सुनुवाई नभएको भन्दै बिहिबारबाट एक सिफ्नै डियूटी अवज्ञा गर्ने आन्दोलनको तयारीमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका मेट्रोन ललिता शर्माले जानकारी दिइन् ।
नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा नयाँ विरामी भर्ना हुन तथा डिस्चार्ज हुनमा समेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण आचार्यले बताएका छन् । नर्सिङ्ग स्टाफहरुको आन्दोलनका कारण अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीको उपचार प्रभावित हुनुको साथै अपरेशन सेवामा समेत ठप्प भएको छ ।
सबै सेवाहरु प्रभावित बनेकोले आकस्मिक बैठक बसेर जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्य मन्त्रलायमा अवस्थाको बारेमा ध्यानकर्षण गराएर पठाएको आचार्यले जानकारी गराए ।









प्रतिक्रिया दिनुहोस्