भवन निर्माण मापदण्ड कार्यान्वयन गर्न आवश्यक



नेपालगञ्ज,३ माघ/ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, सभा तथा अन्तरक्रिया गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा दिवस मनाइएको हो ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प  सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समति बाँकेको आयोजनामा आज विहान भुकम्प स्मृति तथा भुकम्पीय पुर्व तयारी सचेतना प्रभातफेरी तथा सभा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट शुरु प्रभातफेरी त्रिभुवन चौक–विपीचौक हुँदै नेपालगञ्ज उपमहानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले नयाँ घर÷भवन निर्माणमा लागु भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपिल गर्दै भुकम्पीय जोखिम कम गर्न सचेतनासँगै सहकार्यको आह्वान गरे ।

भुकम्पीय जोखीमप्रति उपमहानगरपालिका प्रतिवद्ध रहेको जनाउँदै प्रमुख राणाले यसै वर्षदेखि खुला पार्क निर्माणको पनि तयारी हुने उद्घोष गरे । शहरी भवन डिभीजन कार्यालयका प्रमुख सुनिल कुमार ठाकुरले बढ्दो शहरीकरणमा भुकम्पीय जोखिम पनि बढिरहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने आवश्यता रहेको बताए ।

समारोहका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भुकम्प प्रतिरोधी घर निर्माण लगायतका पूर्व तयारीमा कुञ्जुस्याई नगर्न सबैलाई आह्वान गरे ।

सभा स्थलमा बागेश्वरी सशस्त्र प्रहरी गणले भुकम्पीय सुरक्षाका साधानी सम्बन्धी प्रदर्शनी गर्दै त्यसको प्रयोग बारे जानकारी गराएको थियो । यस्तै मंगलबार नै कर्मचारी मिलन केन्द्रमा भुकम्पीय सुरक्षाका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार