माघी पर्वको एक दिन बाँकी रहँदा थारु समुदायमा बढ्यो रौनक



कोहलपुर,३० पुस/  थारु समुदायको माघी पर्व आउन एकदिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ ।थारु समुदायको महान पर्व अर्थात थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो ।

माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको कोहलपुर नगरपालिका –६ का पञ्चराम थारुले बताए ।

त्यस्तै कोहलपुर नगरपालिका–११ का रामपति थारुले पर्वलाई खुशीयालीका साथ मनाउन केही रकम आवश्यक पर्ने हुँदा त्यसको जोहो गर्ने आफुले मजदुरी गरिरहेको उनले बताए । मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको उनकोे भनाई छ ।

माघी मनाउनका लागि जाँड, रक्सी राख्ने र घर लिप्ने जस्ता सबै तयारी सकिएको कोहलपुर नगरपालिका –७ का छेदा थारुले बताए । माघी पर्व भव्य तरिकाले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पुरा गर्नु पर्ने भएकाले आफूले जसोतसो तयारी गरेको उनको भनाई छ ।

‘माघीमा आफन्ती आउने भएको हुनाले उनीहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा गर्नु पर्ने परम्परा रहेकाले त्यसको तयारी समेत गर्नु पर्छ, ’ थारुले भने ।

माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने वा नवस्ने, जग्गा अधिया लगाउने वा नलगाउने, बडघर बस्ने वा नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपुर्ण योजना बनाउने भएको हुनाले माघ महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् ।

थारु समुदायमा माघ १ गते देखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ ।

सोहीदिन पुषको अन्तिम दिन रातभरी आगो ताप्ने र भाले बासेको समय विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासँग आर्शीवाद समेत लिने चलन रहेको कोहलपुर नगरपालिका –१० का भगपति थारुले बताए ।

उनले भने , ‘माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेला समेत जाने गर्ने गर्दछन् । माघी पर्वमा एक आपसमा साथीभाईहरुसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् ।’

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार