सिरहा : चिसोले सिरहामा ६ वर्षीय बालकसहित तीनजनाको ज्यान लिएको छ। गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभ साह शनिबार राति अचानक स्वास फेर्न गाहे भएपछि हात खुट्टा छट्फटाउन थाले। उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगियो। तर उपचारको क्रममा आइबार बिहान उनको ज्यान गएको पीडित परिवारले जनाएको छ। यस्तै धनगढीमाई नगरपालिका ७ कसहा गाउँका ५५ वर्षीय रामरतन महतोको पनि आज बिहानै चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ। त्यस्तै, गोलबजार नगरपालिका २ लालपुरका ७० वर्षीय बुद्ध रामप्रसाद महतोको शनिबार मृत्यु भएको थियो।
चिसोले कठ्यांग्रिएर घरमै उनको मृत्यु भएको स्थानीयले जानकारी दिए। महतो पहिल्यैदेखि दम रोगका बिरामी थिए।इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले चिसोमा कठ्यांग्रिएर अहिलेसम्म कसैको मृत्यु नभएको दावी गरेका छन्। उनले भने, ‘चिसोले तीनको मृत्यु भनेर खबर आएको छ। तर चिसोले कसैको मृत्यु भएको छैन्।’ उनका अनुसार लालपुरका महतोको चिसोले मृत्यु नभएको भनेर पीडित परिवारले नै कार्यालयमै आएर भनेका छन् भने बालकको मृत्यु चम्की रोग र कसहाका ५६ वर्षीय महतोको मुटु रोग लागेर मृत्यु भएको छ। ‘मुटु रोगी महतोको उपचार धरानमा हुन नसकेपछि चिकित्सकले नै अब बचाउन नसक्ने र घर लग्न सुझाव दिएका थिए, घर ल्याएपछि उनको मृत्य भयो’, सुवेदी भने। यता, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चुमनलाल दासले कोल्ड डाइरिया, श्वासप्रश्वास, निमोनिया, दमलगायतका बिरामीलाई चिसोले थप समस्या पार्ने र ज्यानै पनि लिनसक्ने बताउँछन्। उनले चिसोबाट तीनजनाको मृत्यु भएको खबर मिडियामार्फत जानकारी पाएको बताए।
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्