आमा बचाउ कार्यक्रमले सुत्केरी मृत्यु दरमा कमी



नेपालगञ्ज,२२ पुस/  बाँकेमा एक वर्षअघि सुरु गरिएको आमा बचाउ कार्यक्रमले सुत्केरी आमाको मृत्युमा उल्लेख्य कमी आएको पाइएको छ । गत आर्थिक वर्षको पुस १५ गतेसम्म १२ जना सुत्केरी आमाको मृत्यु भएपछि प्रजनन स्वास्थ्य समन्वय समिति बाँकेले पुस १८ गतेदेखि बाँकेमा विशेष आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले गत आर्थिक वर्ष २०७३ ÷२०७४ को पुस १५ गतेसम्म १२ सुत्केरी आमाले ज्यान गुमाएपछि बाँकेमा आमा बचाउ विशेष अभियान सञ्चालन गरेको जानकारी गराए । सुत्केरी अवस्थामा ज्यान गुमाउने आमाहरुमा मधेशी तथा मुस्लिम समुदायका आमाहरु बढी भएको कारण पनि विषेश अभियान सञ्चालन गर्नु परेको जानकारी दिदै उनले सो आर्थिक वर्षमा १५ सुत्केरी आमाले ज्यान गुमाउनु परेको बताए ।

गत आर्थिक वर्षको पुससम्ममा १२ सुत्केरी आमाले ज्यान गुमाएका थिए भने यो आर्थिक वर्षको पुस १५ सम्म ६ जना सुत्केरी आमाले ज्यान गुमाएका छन । गत वर्षको तुलनामा आमा बचाउ अभियान सञ्चालनपछि ५० प्रतिशत आमाको ज्यान जोगाउन सफल भएको प्रमुख खडकाले जानकारी गराए । आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि २०७३ पुस १८ देखि २०७४ पुस १८ सम्म एक वर्षको अवधिमा ६ जना सुत्केरी आमाले ज्यान गुमाएका छन् ।

२०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने तथ्याङ रहँदा सोही तथ्याङ्कलाई आधार मान्दा बाँकेमा हाल करिव १५ हजार जीवित जन्म हुँदा ३० भन्दामाथि आमाको मृत्यु हुने अनुमान गरिएको छ । नेपालले सो तथ्याङ्कलाई सहश्राब्दी विकास लक्षमा पुग्नको लागि सन् २०३० सम्म प्रतिलाख जीवित जन्ममा ७० मृत्युमा झार्ने प्रतिवद्धता जनाउदा बाँकेमा ११ जनाको मृत्यु हुने अनुमान रहेको प्रमुख खडकाले बताए ।
यसैबीच मातृ तथा बाल मृत्यू दर कम गर्न नेपालगञ्ज नगर क्षेत्रमा नयाँ रणनीति अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगञ्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइने भएको हो । मेडिक मोवाइलको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरले मोवाइल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख खडकाले नगरमा रहेका २ सय एक महिला स्वास्थ्य स्वयंसेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाईल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोवाईलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जानकारी दिए । नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती
महिलाले अकालमा ज्यान गुमाउने गरेकोले त्यस्ता महिलाको ज्यान बचाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार