यसरी बचौं चिसो र शितलहरबाट



मुलुकको तराईमा शीतलहर, बाक्लो हुस्सुले ५ मिटर पनि देखिंदैन, चिसोले कठ्याङ्ग्रिएर, शीतलहरले गर्दा बिभिन्न जिल्लाहरुमा एक,दुई गर्दै दर्जनौंको मृत्यु भईरहेका र सम्पूर्ण तराई क्षेत्रमा जीवन अस्तव्यस्त, भिजिविलिटी नहुनाले तराइ क्षेत्रमा हवाइउडान रद्द, विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून, कृषि बजार, पशुपंक्षी प्रभावित, चिसोबाट जोगाउन केही स्थानमा भएपनि निःशुल्क दाउरा वितरण, कम्बल लुगा वितरण तथा शरीर तताउन चिया, ऊनी व्यापार, दाउराको माग बढ्दो जस्ता जाडो सम्बन्धी थुप्रै समाचारहरू समाचारपत्रहरूमा देखिएका छन । भनिन्छ चिसोको हिसावले पुस महिना फासफुस र माघ महिना बाघ हो तर माघ महिना नआउदै चिसोले दर्जनौंको ज्यान लिइसक्यो भने माघमा झन् कति पीडित र मृत्यु हुने हुन् ?

यथार्थमा चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो । जाडो याममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसहरूको मृत्यु हुनु दुःखलाग्दो विषय हो । शीतलहर केही समयको मौसमी स्थिति भनेर मौन रहनु हुदैन, यसले कृषि व्यवसायलाई क्षति, पशुपंक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसको मृत्यु हुन थालेको छ जुन सम्वेदनशील विषय हो । जाडो निरन्तर बढ्दैछ, मानिस धमाधम मरेका समाचारहरु आइरहेका छन् ।

जब शितलहर शुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । सरसर्ती हेर्दा हुनेखानेको जीवनमा सामान्य प्रभाव तथा एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अभ बुढाबुढी बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । मधेशमा अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन, भएको एकशरो लुगा पनि सितलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्दछ ।

हाइपोथर्मिया
शरीरको भित्री तापक्रम ३० डिग्री सेल्सीयसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा शिताङ्ग भनिन्छ । यो एउटा मेडिकल इमरजेन्सी हो जसमा तुरुन्तै उपचारको जरुरत पर्दछ । शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकुल काम गर्दछ तर त्योभन्दा कम भए ३० डिग्री सेल्सियस भन्दा कम हुदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा बृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।

साधारणतया जति गरम र तातोसग मानिस अनुकुल बन्न सक्दछ त्यति चिसोस“ग हुन सक्दैन । जब बाक्लो हुस्सु, चिसो वातावरण र शीतलहर चल्दछ तब शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुने गर्दछ ।चिसो पानीले पनि हाईपोथर्मिया हुनसक्छ,१० डिग्री सेन्टिग्रेटको पानीले १ घण्टामै मान्छेको ज्यान लिन्छ भने २६ डिग्री सेन्टिग्रेटको पानीले लामो समयसम्म रहदा हाईपोथर्मीया हुनसक्छ ।

हाइपोथर्मियाबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ भने अन्य घरबार विहिन, विस्थापित परिवारका सदस्यहरु र सडक पेटीमा समय बिताउनेहरु र कमजोर स्वास्थ्य अवस्था तथा रोगको जटिलतामा पनि देखिने गर्दछ पर्दछन् । साधारणतया यो समस्या बाहिरी वातावरणमा काम गर्ने मजदुरहरू, लामो दूरीका पौडीवाजहरू, हिमाल तथा पहाडका पदयात्रीहरूमा देखिन्छ ।
शीतलहर वा हाइपोथर्मियाबाट प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचारको अपरिहार्य महत्व छ । न्यानोपन नै प्रमुख उपचार हो ।

हाइपोथर्मियाका अतिरिक्त अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका बृद्धबृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहिन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया, टाउको र छाति दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउछ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ ।

जाडो मौसममा बालवालिका र उमेर ढल्किएका ब्यक्तिलाई बढी छाला र श्वासप्रस्वासको समस्याले सताउने गर्दछ, तथापी महिलाहरु पनि अछुतो रहदैनन । ओठ, मुख, हातगोडा एवं कुर्कुच्चा सुक्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाऊ बनाउँछ । जाडोमा शारिरीक सरसफाईमा कमी हुनाले योनिद्धारबाट सेतो पानी बग्ने, यौनाङ्ग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्रिाईटीस, झाडापखाला हुनसक्छ र जण्डिस र टाईफाईड पनि प्रशस्त पाईन्छ । कतिपय वयस्क तथा वृद्धवृद्धामा वाथ, सन्धीवाथ, आमवाथ आदि रोगबाट ग्रसित हुँदा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुने भएकोले सर्वसुलभ, कम खर्चिलो र अति उत्तम उपहारको रुपम हटवाटर व्याग प्रदान गर्दा एकातिर जाडोबाट बच्न र अर्कोतिर पीडाबाट मुक्ति पाउन धेरै नै सहयोग हुनेछ ।

रोकथाम
समाजमा प्रचलित उखान बलिया बाङ्गा बाघलाई, अशक्त बुढापाका माघलाई भन्ने उखानले प्रश्रय पाउला जस्तो देखिंदैछ किनभने लोडसेडिङ बढदैछ र अझ चिसोले कतिको मृत्यु हुने हो भन्ने प्रश्न उठेको छ । शरीरलाई न्यानो बनाउन मानिस परापूर्वकालीन उपायहरू समाजमा प्रचलित उखान जाडोका साथी रुइ, फुइ र दुईमा भर पर्नुपर्ने भएको छ ।

चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छदैछ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलफुल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवा, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नु पर्दछ ।

अन्तमा,सरकारले पानी उमालेर खान जनचेतना फैलाए जस्तै जाडो मौसममा जाडोबाट बच्ने उपाय तथा झ्याल, ढोका थुनेर आगो नबाल्ने,दाउराको सट्टा न्यानो कपडा,हट वाटर ब्याग र कम्मल बाँड्ने र तातो,झोलिलो र ताजा खाना र फलफुल खाने जस्ता सन्देश फैलाउनु पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २६ गते मंगलबार