१७ मंसीर/ , नेपालगन्ज : नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवारले निर्वाचनको मिति भन्दा ५ दिन अगागि आफ्नो उम्मेदवारी त्यागेको घोषणा गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेकी छन् । बाँके क्षेत्रनं २ प्रदेश सभा ‘क’ की प्रत्यक्ष उम्मेदवार रेखादेवी मिश्रले आफ्नो उम्मेदवारी त्याग्दै कार्यकर्तासहित एमालेमा प्रवेश गरेकी हुन् ।चुनाव प्रचार प्रसारमा सक्रिय रहेकी मिश्रले पार्टीको रणनीति र नेताहरुको व्यवहार मन नपरेकाले पार्टी र आफ्नो उम्मेदवारी नै त्यागेको घोषणा गरिन । उनलाई नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, जिल्ला पार्टी अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री, जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, रविन्द्र लम्साललगायतका नेताले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
‘म उम्मेदवार भएर आफ्नो प्रचार प्रसारमा निस्किए । पार्टीकै नेताहरु अर्को पार्टीको उम्मेदवारको पछि लागेको देखियो’–मिश्रले भनिन,–‘जब पार्टीको रणनीति र नेताहरुको व्यवहार राम्रो छैन भने त्यस्तो पार्टीमा बस्नुको औचित्य छैन ।’ मिश्रले देशमा बामपन्थीको स्थायी सरकार बन्ने निश्चित नै भएकाले जिल्लाको विकासमा हातेमालो गर्न आफू एमालेमा प्रवेश गरेको स्पष्ट पारिन ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादवले अरु पार्टीका उम्मेदवार नै आफ्नो पार्टीमा प्रवेश गर्नु शुभ लक्षण भएको बताए । उनले पार्टीको विधि पद्धती अनुरुप मिश्रलाई व्यवस्थापन गर्ने बताए । जिल्ला अध्यक्ष कोइरालाले वामगठबन्धनले देशको विकास गर्छ भन्नेमा आम जनता सचेत हुँदै गएको बताए । ‘अहिले वामगठबन्धनको लहर नै छ । देशको माहोलले पनि दुई तिहाई जित्ने लक्षण देखाएको छ,’–कोइरालाले भने–‘अब देशको विकास वामगठबन्धनले गर्छ ।’

मिश्रसँगै एक दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा पिछडा वर्ग संघका अध्यक्ष राधेश्याम मौर्य, नरेश सिंह, मोहन सिंह, रमेश सिंह, प्रल्हाद कोरी, गितादेवी कनौजिया, अन्नुदेवी खटिक, रिनादेवी खटिक, कवुतरादेवी, खटिक, केशरानी रैदास, गोविन्द सिंह, राम बौर्य, लोकेन्द्र वोगटी, लिलावती धोवी लगायत रहेका छन् ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादव र पार्टी अध्यक्ष कोइरालाले सबैलाई टिका लगाएर एमालेमा प्रवेश गराएका थिए । उम्मेदवार मिश्रको टोली एमालेमा प्रवेश गर्दा वामगठबन्धनलाई ठूलो फाइदा भएको नेताहरुले बताएका छन् ।
यसैबीच, चुनावको मिति नजिकिदै जादा उम्मेदवारलाई भ्याइनभ्याई भएको छ । उम्मेदवारहरु टोलटोलका कोण सभा र विशेष–विशेष ठाउँमा घरदैलो गरेका छन् । मौन अवधि शुरु हुन केही दिन बाँकी रहेकाले सबै पार्टीका उम्मेदवारहरुको प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ ।
वाम गठबन्धनका उम्मेद्वार बाँके क्षेत्र नं. २ प्रदेशसभाका उम्मेद्वार पशुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ ‘ख’ प्रदेशसभाका उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जको बाके गाउँ, गोसाइगाउँ, कारकाँदो लगायतका क्षेत्रमा कोणसभा तथा घरदैलो गरेका छन् ।
वामगठबन्धनले मतदाता शिक्षालाई पनि विशेष जोड गरेको छ । दुई पार्टीको चुनाव चिन्ह हुने भएकाले बदरको संभावना बढी रहेको भन्दै वामगठबन्धनले घरघरमा टोली खटाएर मतदान गर्ने तरिका सिकाइरहेको क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का संयोजक रविन्द्र लम्सालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्