निर्वाचनमा मतदान अधिकृत छनौटमा मनपरी



कोहलपुर, ९ मंसिर/   आसन्न मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु छनौट गर्दा निर्वाचन कार्यालय बाँकेले मनपरी ढङ्गले छनौट गरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

एउटै कार्यालयका आठौं तहका वरिष्ठ अधिकृतलाई सहायक मतदान अधिकृत र का.मु.छैठौं तहका सहायक अधिकृतलाई मतदान अधिकृत छनौट गरिएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको नामावलीमा नाम देखेपछि ती कर्मचारीहरुले गुनासो गरेका हुन् ।

निर्वाचन कार्यालयले तयार पारेको नामावलीमा सुब्बा सरहका कर्मचारीहरुलाई मतदान अधिकृत तोकेको छ भने छैठौं, सातौं र आठौं तहका अधिकृतहरुलाई सहायक मतदान अधिकृत तोकेकोले निर्वाचन कार्यालयले आफ्नो मानमर्दन गरेको र भनसुन वा मनपरी ढङ्गले मतदान अधिकृतहरु छनौट गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

त्यस्तै एक शिक्षकले पनि आफू मावि स्तरको द्वितीय श्रेणीको सिनियर शिक्षकलाई सहायक मतदान अधिकृत र मावि तृतीय श्रेणीका जुनियर शिक्षकलाई मतदान अधिकृत बनाएकोमा क्षेत्रीय निर्वाचन कार्यालयमा गुनासो गर्न आएको बताए ।

क्षेत्रीय निर्वाचन कार्यालयसँग बुझ्दा यहाँबाट निर्वाचन कार्यालयहरुमा कर्मचारीका उपलब्ध नामावली र विवरण पठाइदिने हो । बाँकी मिलाउने काम सम्वन्धित निर्वाचन कार्यालयबाटै हुने जानकारी दिएको छ । यसबारे क्षेत्र नं.१ का क्षेत्रीय निर्वाचन अधिकृत उद्धव गजुरेलसँग बुझ्न पटक पटक फोन सम्पर्क गर्दा पनि गजुरेलले फोन नठाएनन् ।

यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीसँग बुझ्न सम्पर्क गर्दा उनले एउटै कार्यालयका कर्मचारीहरुको हकमा त त्यस्तो नहुनु पर्ने हो, के रहेछ, म बुझ्छु भन्ने जवाफ आयो । पुनः फोन सम्पर्क गर्दा निर्वाचन अधिकृतसँग सम्पर्क हुन नसकेको जवाफ दिए ।

केही कर्मचारीहरुले निर्वाचन अधिकृत गजुरेललाई भेटेरै त्यस बारेमा कुरा राखेको तर उनले अब त्यो भइसक्यो परिवर्तन गर्न मिल्दैन, तोकेको कार्यक्षेत्र र पदमा रही काम गर्न नचाहने कर्मचारीहरुले म जाँदैन भनि लिखित निवेदन दिनुहोस् जस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएको ती कर्मचारीले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार