बाँकेको कोहलपुर नगरपालिका–४ किरण नाला छेउमै चार तारे होटल सेन्टर प्लाजा आइतबार देखि सञ्चालनमा आएको छ । सो चारतारे होटल करिब ५० करोडको लागतमा सम्पन्न भएको होटलका सञ्चालक एवं म्यानेजिङ डाइरेक्टर देवानन्द अर्यालले जानकारी गराइका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनले सो कुराको जानकारी दिएका हुन् । मानसरोवर, रारा राष्ट्रिय निकुञ्ज,खप्तड राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउने पर्यटकहरुको मागलाई मध्यनजर गर्दै होटल संञ्चालनमा ल्याइएको संञ्चालक अर्यालले बताए ।
सेन्टर प्लाजा मध्य र सुदुरपश्चिमञ्चलमै पहिलो पटक अपाङ्गमत्री तथा सबै भन्दा ठुलोे होटल हो । सेन्टरप्लाजामा तीन वटा आधुनिक हलहरु रहेका छन् । ती मध्ये सबभन्दा ठूलो हलमा करिब ७ सय ५० जना अटाउने क्षमता रहेको छ । होटेलमा चार प्रकारका गरी ७५ वटा आधुनिक सुविधायुक्त कोठा रहेका छन् । होटेल संञ्चालन पछि करिब १ सय १० जनाले रोजगारी समेत पाउने संञ्चालक अर्यालले बताए । मध्य र सुदूरपश्चिमका २३ जिल्लाको ट्रान्जिट प्वाइन्टको रुपमा विकास हुँदै गैरहेको रहेको कोहलपुर आफैमा पर्यटकहरुको वासस्थानको गन्तव्य हो । कोहलपुरलाई पर्यटक रेष्टसिटीको रुपमा विकास गर्न सकिने प्रसस्तै सम्भावनाहरु रहेका छन् ।
होटलमा आवश्यक पर्ने सबै किसिमका उपकरणहरु समेत जडान गरिएको छ । होटलमा भिआरपी २ सय १० टन क्षमताका एसीहरु समेत जडान गरिएको छ । ८ हजार ५ सय वर्गमिटरमा फैलिएको होटलमा ५ वटा ब्लकहरु रहेका छन् । ३२ सय वर्गमिटरमा किचन समेत निर्माण गरिएको छ । होटलमा हरेक प्रकारका सेवा सुविधाहरु रहेका छन् । होटलमा २० फिट माथिबाट ‘वाटर फाल’ गराएर खोलाको ‘र’मा पौडिएजस्तो महशुस गराउने संरचना तयार छ । वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य रहेको अर्यालको भनाइ छ ।
१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलकोनिर्माण कार्य सुरु गरिएको २६ महिनापछि सम्पन्न भएको हो । कोहलपुर–नेपालगञ्जसम्मको स्तरीय सडक निर्माण भइसकेपछि मध्य तथा सुदूरपश्चिममा बाक्लिदै गइरहेका एनजिओ आइएनजीओ र विकासे आयोजनाका कारण पनि यस क्षेत्रमा खर्चालु ग्राहकहरु आउने गर्छन् । जसले गर्दा होटलका लगानीकर्ताको ध्यान तानिएको छ । युवा व्यवसायी देवानन्द अर्याल सन २००८ मा रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्यहाँबाट फर्किएर उनले आफ्नै ठाउँमा होटल व्यवसाय सुरु गरेका हुन् ।
प्रकाशित मिति : २०७४ मंसिर ५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्