तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न



कोहलपुर, ०१ मंसिर/  कोहलपुर क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने विकास पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना र क्रियाशिल पत्रकार समुह कोहलपुरको समन्वयमा मंगलबारदेखि सञ्चालन गरिएको सो तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पत्रकारहरुको क्षमता विकासको लागि आगामी वर्षहरुमा पनि यस्ता तालिमहरुको आयोजना गरिने बताए ।

साथै कोहलपुर क्षेत्रका पत्रकारहरुको कार्यक्रम तथा भेला बैठकहरु सञ्चालन गर्न सहज होस् भन्नका लागि सञ्चारग्रामको स्थापना गर्ने प्रतिवद्धता समेत जनाएका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं तालिमका प्रशिक्षक धर्मेन्द्र झाले पत्रकारहरुले कुनै पनि विषयका बारेमा भनेको वा सुनेको आधारमा भन्दा पनि खोज अनुुसन्धान गरी सत्य तथ्य कुराहरु सम्प्रेषण गरी जनतालाई सुसुचित गराउनु पर्ने बताए ।

कोहलपुर नगरपालिका सामाजिक विकाशका सभापति तथा कोहलपुर नगरपालिका वडा नं १० का अध्यक्ष निरज चलानेले विकास पत्रकारिताले कोहलपुर क्षेत्रका पत्रकारहरुको क्षमतामा निखारता ल्याउने विश्वास व्यक्त गरे ।

तालिमका सहभागीहरुको तर्फबाट बोल्दै पत्रकार पुजन विश्वकर्माले कोहलपुर नगरपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेकोमा नगररपालिकालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै अर्का सहभागी पत्रकार सरला सुवेदीले तालिममा धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै नगरपालिकालाई धन्यवाद दिएकी थिइन् ।

तालिममा सहभागीहरुलाई कोनपा–१४ को ढोरपुरुवा र वडा नं.३ मा रहेको सम्वृद्धि कृषि फार्म स्थलगत अवलोकन गराइएको थियो । तालिममा वरिष्ठ पत्रकार तिर्थ काइराला, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष सुरेन्द्र काफ्ले लगायतले सहजिकरण गरेका थिए ।

तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिमको समापन सत्रमा कोहलपुर नगरपालिकाका प्रशासन प्रमुख प्रेम प्रसाद देवकोटा, कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, कोनपा कार्यपालिका सदस्य डिल बहादुर परियार लगायतको सहभागिता रहेको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार